काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु. एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।
अघिल्लो संस्करणको तुलनामा यस पटक विजेता टोलीको पुरस्कार राशि रु. ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको उपविजेताले रु. ८० लाख, तेस्रो हुने टोलीले रु. ४० लाख र चौथो स्थानमा रहने टोलीले रु. ३० लाख पाउने जानकारी दिए ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै रु. एक करोड १० लाख नगद पुरस्कार पाएको थियो ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यस पटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्






















