काठमाडौं– डिएगो म्याराडोनाको मृत्युको अन्तिम सुनुवाइ सकिएको छ । डिसेम्बर २२ का दिन फैसला हुने तय भएको छ । उपचारमा संलग्न सात जनाको विरुद्धमा मुद्दा दर्ता गरिएको हो । उपचारको क्रममा हेलचेक्र्याइँ गरिएको आरोप उनीहरूमाथि लागेको हो ।
‘मलाई विश्वास छ, मेरो बाबुले न्याय पाउनु हुनेछ’, म्याराडोनाकी छोरी डाल्मा म्याराडोनाले भनेकी छन् ।
उपचारमा संलग्न म्याराडोनाका नियमित चिकित्सक लियोपोल्डो मोक्युले भने आफू निर्दोष भएको बताएका छन् ।
फोक्सोमा पानी जमिरहने समस्याले ग्रसित उनको एक्कासि हृदयाघातका कारण ज्यान गएको हो । लागुऔषधको पनि कारण विवादमा आइरहने उनको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ का दिन ओछ्यानमा नै शव फेला परेको थियो । मस्तिष्कको हेमाटोमा रहेको कारण दुई साताअघि शल्यक्रिया गरिएका उनी डिस्चार्ज भएर घरमै बसेका थिए ।
ब्युनर्स आयर्सको टिग्रेका स्थायी बासिन्दा उनको निधनको विषय त्यस समय कोभिड १९ को कारण कम चर्चामा रहेको थियो ।
उनको मृत्युका बारे अप्रिल महिनामा सुरु भएको सुनुवाइमा ७० भन्दा बढी प्रमाण जुटाइएको थियो । अभियोजकहरूले सात जनामध्ये ६ जनालाई ४ देखि १२ वर्षको तथा एक जनालाई १२ वर्ष या बढी जेल सजायको माग गरेका छन् ।
मोक्युका वकिलले भने आफ्नो क्लाइन्टलाई बलिको बोको बनाइएको आरोप लगाएका छन् । उनको पक्षमा वकालत गर्नेहरूले निर्दोष भएको धेरै प्रमाणहरू अदालतमा प्रस्तुत गरेका थिए । उनले आफूले म्याराडोनालाई अत्यन्त धेरै माया गर्ने र उनी आफ्नो आइडल समेत भएको बताए ।

घरमा आवश्यक स्वास्थ्य सुविधा नभए पनि अस्पतालको साटो घरमा बस्न रिफर गर्नु नै लापरबाही भएको आरोप चिकित्सकमाथि लगाइएको हो । मृत्यु अगाडि सावधानी नअपनाएको तथा केही जोखिमका लक्षण देखिए पनि बेवास्ता गरिएको आरोप लगाइएको छ ।
यस मुद्दाका प्रतिवादी पक्षका वकिल भाडिम मिस्चानुचक भने हत्या गर्ने कुनै योजना कतै पनि नभएको कारण आफ्नो क्लाइन्ट निर्दोष ठहर हुने विश्वास व्यक्त गर्छन् ।
अहिले सात जनाको विरुद्धमा मुद्दा चलेपछि आठौँ आरोपी नर्स डाहियाना म्याड्रिडको विरुद्धमा अर्को मुद्दा लगाइएको छ ।
यो मुद्दा न्यायाधीशहरू अल्बर्टो क्रेग, अल्बर्टो अल्टोरोनी र पाब्लो रोलोनको बेन्चमा छ । यसभन्दा अघिको न्यायाधीश डकुमेन्ट्रीमा संलग्न भएको तथा पक्षपाती भएको ठहर गर्दै नयाँ बेन्चमा पुगेको हो । डिफेन्स वकिलहरूले भने बारम्बार आफ्नो पक्षलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आएका छन् ।
सुनुवाइको क्रममा म्याराडोनाका परिवारका सदस्यलगायत धेरै जना अदालतमा उपस्थित भएका थिए । यी धेरैको बयानलाई पनि आधार बनाइएको छ । वकिल मिसनचुकले भने यस सुनुवाइले म्यारोडोना र उनको परिवारप्रति सम्मानको महसुस भए पनि प्रतिवादीको अनादर भएको बताएका छन् ।
‘हामीले एक महिनामा सबै सकिने अपेक्षा गरेका थियौं । २ महिनासम्म ठिकै थियो । तर ६ महिना लामो सुनुवाइ साँच्चै अचम्मको हो’, उनले भने ।
–एजेन्सीहरुको सहयोगमा






















