काठमाडौं – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रामारोशनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा कात्तिक १३ गतेदेखि ‘रामारोशन प्रिमियर लिग सिजन–२०’ सञ्चालन हुन लागेको हो ।
शुभ दीपावली तथा छठ पर्वको अवसरमा रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबले प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए । उनका अनुसार खेलकुदका माध्यमबाट रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई देश–विदेशमा चिनाउने प्रतियोगिताको उद्देश्य छ।
आयोजकले यसलाई अछामकै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारेको छ। प्रतियोगिताको विजेता टोलीले मेडल र प्रमाणपत्रसहित दुई लाख रुपैयाँ तथा उपविजेता टोलीले मेडल र प्रमाणपत्रसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य क्षेत्रका क्रिकेट क्लबहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ। हिमाल, ताल, विशाल घाँसेमैदान र मनोरम प्राकृतिक दृश्यको बीचमा हुने प्रतियोगिताले खेलप्रेमीसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको उद्घाटनका दिन स्थानीय कला तथा संस्कृतिको समेत प्रदर्शन गरिनेछ। पञ्चेबाजा, देउडा, हुड्क्यौली र भुवो प्रस्तुतिमार्फत स्थानीय मौलिकता झल्काउने तयारी गरिएको आयोजकले जनाएको छ। खेलकुद र संस्कृतिलाई पर्यटनसँग जोडेर रामारोशनको पहिचान विस्तार गर्ने आयोजकको लक्ष्य छ।
किनिमिनी पाटन रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदानका रूपमा परिचित छ। प्रतियोगिता सञ्चालनका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत स्थानीय






















