images
images
  • श्रीलङ्काका कुशल परेरा जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

    काठमाडौं – श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

    जनकपुर बोल्ट्सले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । टोलीले उनको आक्रामक ब्याटिङ शैली र दबाबपूर्ण अवस्थामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले टोलीलाई बलियो बनाउने विश्वास गरेको छ ।

    परेराले यसअघि इन्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल) र पाकिस्तान सुपर लिग ९पिएसएल० लगायत विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एनपिएलमा उनको सहभागिताले जनकपुरको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ ।

    श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेरा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले टेस्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७ रन, एकदिवसीय अन्तर्राष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ रन तथा टी–२० अन्तर्राष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।

    जनकपुर बोल्ट्सले यसअघि नै इङ्ग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद र अमेरिकाका हरमित सिंहलगायत विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

    एनपिएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images