images
images
  • एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, प्रधानमन्त्रीले दिए शुभकामना

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा प्रधानमन्त्री बालेन शाहले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले छोटो समयमै एनपीएलले भव्य खेलकुद महोत्सवको रूप लिँदै ठूलो फड्को मारेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन् । उनले प्रतियोगितालाई सफल बनाउन मैदानमा उत्रिने नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई पनि शुभकामना दिएका छन् ।

    नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा एनपीएलले भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री शाहले आफ्नो सन्देशको अन्त्यमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भनेका छन् ।

    एनपीएलको तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री शाह सहभागी हुने भएका छन् । उनको सहभागिता आइतबार अबेर सुनिश्चित भएको आयोजक क्यानले जनाएको छ । प्रधानमन्त्रीको उपस्थितिले प्रतियोगिताको उद्घाटन समारोहलाई थप महत्त्व दिने आयोजकको अपेक्षा छ ।

    यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

    कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाली क्रिकेटको प्रमुख घरेलु प्रतिस्पर्धाका रूपमा हेरिएको छ। एनपीएलले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै विदेशी खेलाडीको सहभागिताबाट अनुभव आदानप्रदान र क्रिकेटप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images