images
images
  • रौतहटमा भन्सार छलीका २ लाख भन्दा बढि सामान बरामद, घरेलु मदिरा नष्ट

    काठमाडौं – रौतहटमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका २ लाख ६० हजार रुपैयाँभन्दा बढीका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले छुट्टै कारबाहीका क्रममा ६० लिटर अवैध घरेलु मदिरासमेत नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

    सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत आइतबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार जिल्ला प्रहरी कार्यालयबाट परिचालित बोर्डर एक्सन टिम (बीएटी), भन्सार सुरक्षा गार्ड रौतहट तथा प्रहरी चौकी औरैयाको संयुक्त टोलीले गौर नगरपालिका–२ महादेवपट्टी र ईशनाथ नगरपालिका–औरैया क्षेत्रमा चेकजाँच गरेको थियो ।

    त्यस क्रममा भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइँदै गरेका कपडा, औषधि, किराना सामग्री तथा दुई बोरा सुर्ती बरामद गरिएको डीएसपी गौतमले जानकारी द्रिए ।

    प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य २ लाख ६० हजार २७५ रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सवारीसाधनबाट ६० लिटर घरेलु मदिरा बरामद

    यसैगरी, प्रहरीले यमुनामाई गाउँपालिका–७ बमनहरस्थित सडकबाट ६० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

    आइतबार दिउँसो करिब ४ः३० बजे चपुरबाट गौरतर्फ आउँदै गरेको भाडाको सवारीसाधन जाँच गर्ने क्रममा अस्थायी प्रहरी पोस्ट बमनहरबाट खटिएको गस्ती टोलीले मदिरा फेला पारेको हो ।

    प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सीमावर्ती जिल्लाका विभिन्न नाकाबाट हुने भन्सार छली तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images