images
images
  • खुकुरी प्रहारबाट श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

    काठमाडौं – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ ।

    घाइतेमध्ये अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

    खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा चोट लागेको छ । नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

    पीडित परिवारले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरिएको आरोप लगाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    घरायसी विवादपछि खुकुरी प्रहार

    स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विषयमा सामान्य विवाद भएपछि नइन्द्रकुमारले ससुराली घरमा खुकुरी प्रहार गरेका थिए । नेपाली सेनामा कार्यरत उनी दसैँ मनाउन घर आएको जनाइएको छ ।

    रातिको समयमा घरभित्र सुतिरहेका अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार भएपछि गाउँमा त्रास फैलिएको स्थानीयले बताएका छन् ।

    घटनाबारे करिब १५ मिनेटपछि जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा आरोपित फरार रहे पनि खोजतलासका क्रममा उनलाई राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images