काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका बासिन्दालाई नुवाकोटस्थित होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।
बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात गुमाएका प्रभावितलाई राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक सेवा लिन सहज बनाउने उद्देश्यले अस्थायी बसोबासस्थलमै पुगेर आवेदन सङ्कलन गरी प्रतिलिपि उपलब्ध गराउन थालिएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका बासिन्दा हाल नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूलाई नागरिकताको प्रतिलिपि लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न प्रशासनले होल्डिङ सेन्टरमै सेवा पुर्याउने व्यवस्था गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार नुवाकोटको पिपलटारस्थित होल्डिङ सेन्टरमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का २०२ जना बाढी प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम सङ्कलन गरी आइतबार रसुवाको सदरमुकाम धुन्चे ल्याइएको छ ।
सङ्कलित आवेदनको अध्ययन तथा आवश्यक प्रमाणीकरणपछि नागरिकताको प्रतिलिपि तयार गरिने र होल्डिङ सेन्टरमै पुगेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने उहाँले बताए ।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना तथा उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।
अध्यक्ष अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ। बाढी प्रभावितलाई आवश्यक अन्य प्रशासनिक सेवासमेत क्रमशः उपलब्ध गराउँदै लगिने उनले बताए ।
बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका प्रभावितलाई प्रशासनिक प्रक्रिया पूरा गर्न सहज बनाउने र राहत तथा पुनःस्थापनासम्बन्धी काममा हुने ढिलाइ कम गर्ने अपेक्षा गरिएको छ ।






















