images
images
  • मन्त्रीलाई भेट्न जनता होइन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

    काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न र सरकारले गरेका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन् ।

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले जनता मन्त्रीलाई भेट्न आउनेभन्दा मन्त्री नै जनतालाई भेट्न जानुपर्नेमा जोड दिइन् । भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधानका लागि सरकारले गरिरहेका कामबारे जानकारी गराउन आफू चितवन आएको उनले बताइन् ।

    मन्त्री रावलका अनुसार भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडितको बचत फिर्ता सरकारको प्राथमिकतामा छन् । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यसलाई अझ तीव्रता दिइने बताइन् ।

    “धेरै समयदेखि उहाँहरू पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ,” उनले भनिन् ।

    बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री रावलले जनतामाझ पुगेर उनीहरूका समस्या सुन्ने अभियानमा सरकार रहेको बताइन् । सरकारले जनताको हकहितमा गरिरहेका काम र आगामी कार्ययोजनाबारे नागरिकलाई जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ छ ।

    “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ र आगामी कार्ययोजना के छ भन्नेबारे जनतालाई बताउनुपर्नेछ । उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ,” उनले भनिन् ।

    भूमिहीन नागरिकलाई आफू बसोबास गरिरहेको स्थानबाट हटाइने हो कि भन्ने आशङ्का पनि हटाउनुपर्ने मन्त्री रावलले बताइन् । लामो समयदेखि बसोबास गर्दै आएको जग्गा नपाइने हो कि भन्ने चिन्ता लिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले कानुनी जटिलता समाधान गरेर सरकार अघि बढिरहेको बताइन् ।

    “त्यस्तो हुँदैन । हामीले काम गरिरहेका छौँ । कानुनी जटिलता बाधक थियो, त्यसलाई सच्याएर सरकार अघि बढेको छ,” उनले भनिन् ।

    लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई सम्बन्धित जग्गाको धनीपुर्जा उपलब्ध गराउने प्रक्रियामा रहेका कानुनी अड्चन हटाइने पनि उनले बताइन् । आवश्यक नीतिगत सुधार गरिसकिएको उल्लेख गर्दै मन्त्री रावलले कार्यान्वयनका क्रममा देखिने समस्या पनि समाधान गर्दै सरकार अघि बढ्ने स्पष्ट पारिन् ।

    “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो, त्यो गरिसकेका छौँ । कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ,” उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images