images
images
  • निर्वासनपछि स्वदेश फर्किइन् विपक्षी नेतृ मचाडो, टुंगिएला भेनेजुयलाको राजनीतिक सङ्क्रमण ?

    काठमाडौं– भेनेजुयलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन् । उनको स्वागतमा हजारौं समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए ।

    मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुयलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।

    मचाडोले गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाडेकी थिइन् । उनको पार्टीका अनुसार स्वदेश फर्कने उनका कम्तीमा सात प्रयास असफल भएका थिए । उनका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मादुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा हुनुहुन्छ । त्यसपछि मादुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी थिइन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुयलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताएका छन् ।

    मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार ४०० भन्दा बढी पक्राउ परेको विवरण छ ।

    विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुयलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो । अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images