काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु गरेका छन् । आगामी वर्ष हुने पार्टी महाधिवेशन र नेतृत्वको सम्भावित फेरबदलअघि सुरु भएको बैठकलाई चीनको भावी राजनीतिक दिशा बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
पाँचौं पूर्ण अधिवेशन भनिने बैठकमा सत्तारूढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका करिब ३०० सदस्य सहभागी छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले बैठकमा पार्टीको अनुशासन र स्वशासन सुदृढ गर्ने रणनीतिक योजनासहितको मस्यौदा निर्णय प्रस्तुत गरेका छन् ।
बन्द कोठामा कडा सुरक्षाबीच भइरहेको बैठकका विस्तृत निर्णय बिहीबार बैठक सकिएपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ । आगामी वर्ष हुने पार्टी महाधिवेशनमा ७३ वर्षीय सीले ऐतिहासिक चौथो कार्यकाल सुनिश्चित गर्ने र नेतृत्वमा फेरबदल गर्ने सम्भावना रहेकाले बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
सीले १४ वर्षदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् । यस क्रममा केन्द्रीय समितिका सदस्यसहित हजारौं अधिकारी कारबाहीमा परेका छन् । तर आफ्ना निर्देशन कार्यान्वयन नगर्ने तथा पार्टीप्रति पूर्ण वफादार नहुने अधिकारीप्रति उनी असन्तुष्ट रहेको सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीले देखाएको छ ।
यस वर्षको बैठकमा केन्द्रीय समितिका आठ स्थान रिक्त छन् भने अन्य १५ सदस्य अनुसन्धानमा रहेकाले पद गुमाउने जोखिममा छन् । सीको अभियानले सेनालाई समेत प्रभावित पारेको छ । केन्द्रीय सैन्य आयोगका सात सदस्यमध्ये पाँच जना पदबाट हटाइएका छन् । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसार सन् २०२२ मा केन्द्रीय समितिमा नियुक्त ४४ सैन्य सदस्यमध्ये दुई जना मात्र कारबाहीमा नपरेको वा सम्पर्कविहीन नभएको अवस्था छ ।
विश्लेषकहरूका अनुसार सीले थप निगरानी र कडा नियममार्फत पार्टीका अधिकारीको कार्यक्षमता तथा वफादारी बढाउन खोजेका छन् । बैठकले केन्द्रीय सैन्य आयोगमा नयाँ सदस्य नियुक्त गर्ने, आगामी वर्षको महाधिवेशनसम्म नियुक्ति स्थगित गर्ने वा सेनामाथि पार्टीको नियन्त्रण पुनर्गठन गर्ने विकल्पमध्ये कुनै निर्णय लिन सक्ने अनुमान गरिएको छ ।
चीनको सुस्त घरेलु खर्च, लामो समयदेखि सङ्कटमा रहेको घरजग्गा क्षेत्र र अमेरिकासँगको तनावपूर्ण आर्थिक तथा राजनीतिक सम्बन्धका बीच बैठक सुरु भएको हो । यी चुनौतीको सामना गर्न चीनको नेतृत्वले कस्तो नीति अपनाउँछ भन्ने विषयमा पनि बैठकको निर्णयलाई महत्त्वका साथ हेरिएको छ ।






















