काठमाडौं – तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यान्चोकका महिलाले यस वर्षको तिहारमा १० लाख रुपैयाँ मूल्यको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका उनीहरूले गत वर्ष नौ लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका थिए ।
तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । फूल फुलेर खेतबारी ढकमक्क भएपछि स्थानीय महिला फूल टिप्ने, बिक्रीका लागि तयार पार्ने र भण्डारण गर्ने काममा व्यस्त छन् । टिपिएका फूल बिक्री गर्ने समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गर्ने व्यवस्था मिलाइएको समूहकी अध्यक्ष सुन्तली गुरुङले बताइन् ।
तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ४५ जना महिला आबद्ध छन् । सामूहिक फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै नभई आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने अवसरसमेत बनेको गुरुङको भनाइ छ ।
फूलखेतीको क्षेत्रफल र उत्पादन बढ्दै गएसँगै बजारमा पनि माग आउन थालेको छ । पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसकेकी छन् ।
गुरुङका अनुसार सयपत्री फूल प्रतिकिलो चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तिहारमा फूलको माग उच्च हुने भएकाले उत्पादन, टिपाइ र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिएको उनले बताइन् । चिस्यान केन्द्रमा फूल भण्डारण गर्दा बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको उनको भनाइ छ ।
स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट सयपत्री फूल ल्याउनुपर्ने निर्भरता घटाउनसमेत सहयोग पुगेको छ । उत्पादनलाई निरन्तरता दिँदै बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढाउन सकिने गुरुङले बताइन् ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन । स्थानीय महिलाले उत्पादन गरेको फूलको माग आउन थालेपछि उनीहरूको आर्थिक आत्मनिर्भरतामा सहयोग पुगेको उनले बताए ।
तिहारमा घर, मठमन्दिर र सार्वजनिक स्थल सजाउन सयपत्री फूलको व्यापक प्रयोग हुन्छ । चाडपर्वमा बढ्ने मागलाई लक्षित गरी आँधीमूलका महिलाले गरेको सामूहिक फूलखेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै ग्रामीण महिलाको आम्दानी बढाउने सम्भावना देखाएको छ । यस वर्ष १० लाख रुपैयाँको फूल बिक्री गर्ने लक्ष्य पूरा गर्न उनीहरू उत्पादन र बजारीकरणमा जुटेका छन् ।






















