images
images
  • कामदार अभाव र बढ्दो ज्यालापछि धान दाइँमा थ्रेसरको प्रयोग बढ्दै

    काठमाडौं – कृषि मजदुरको अभाव र ज्याला खर्च बढ्दै गएपछि कपिलवस्तुका किसान धान दाइँ गर्न आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत विधिबाट धान झार्दा समय र खर्च बढी लाग्ने भएपछि किसानले मेसिनको प्रयोग बढाएका हुन् ।

    जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर भित्र्याउने चटारो छ । किसान धान काटेर भित्र्याउने र थ्रेसर मेसिनको सहायताले धान तथा पराल छुट्याउने काममा व्यस्त छन् । खेताला पाउन मुस्किल हुनु र मजदुरको ज्याला महँगो पर्दै जानुले थ्रेसरको प्रयोग बढाएको किसान बताउँछन् ।

    कपिलवस्तु नगरपालिका–६, थुम्हवाका किसान प्रभु धोवीका अनुसार गाउँमा कामदार पाउन कठिन हुँदै गएको छ । कामदार पाइए पनि ज्याला महँगो पर्ने भएकाले धान भित्र्याउन मेसिन प्रयोग गर्न थालेको उनले बताए ।

    “थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ । त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ,” उनले भने ।

    महाराजगञ्ज नगरपालिका–२, पडरियाका किसान विनोद भुजले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताए । गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा सानो आकारका थ्रेसर खेतसम्म पुर्‍याउन र प्रयोग गर्न सजिलो भएको उनको भनाइ छ । बिहान, दिउँसो र साँझसमेत मेसिन प्रयोग गर्न सकिने भएकाले किसानलाई धान भित्र्याउन सहज भएको उनले बताए ।

    थ्रेसर मेसिन सञ्चालक राकेश कुर्मीका अनुसार यसको प्रयोगले समय र श्रम बचत हुनुका साथै खर्चसमेत कम लाग्छ । धान र पराल छुट्याएबापत प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म लिने गरेको उनले बताए । किसानको आकर्षण बढेसँगै जिल्लामा थ्रेसर मेसिनको माग पनि बढ्दै गएको उनको भनाइ छ ।

    आधुनिक प्रविधिले कृषि कार्य सहज बनाए पनि परम्परागत दाइँ संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने किसान श्यामलाल धोबी बताउँछन् । प्रविधिको प्रयोगसँगै कृषि क्षेत्रमा प्रचलित परम्परा र सांस्कृतिक अभ्यासलाई पनि जोगाउनुपर्ने उनको धारणा छ ।

    कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा कुल ८४ हजार ५९१ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ६३ हजार ६४८ हेक्टरमा धानखेती गरिएको छ । गत वर्ष भने ६६ हजार २६५ हेक्टरमा धानखेती भएको थियो ।

    जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन् । कृषि मजदुरको उपलब्धता घट्दै गएको र खेतीको लागत बढिरहेको अवस्थामा आधुनिक कृषि उपकरणको प्रयोगले किसानलाई समयमै बाली भित्र्याउन सहयोग पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images