images
images
  • मुख्य पाँच मुद्दामा इजरायलको संसदीय निर्वाचन

    काठमाडौं– इजरायल वर्षौंदेखि जारी बहुपक्षीय द्वन्द्वमा जेलिएको, बढ्दो अन्तर्राष्ट्रिय आलोचनाको सामना गरिरहेको र देशभित्र गहिरिँदो ध्रुवीकरणसँग जुधिरहेका बेला यो उच्च जोखिमपूर्ण मतदान हुन लागेको हो ।

    इजरायलीहरू संसदीय निर्वाचनका लागि मंगलबार मतदान गर्दैछन् । सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमण र त्यसपछि गाजा क्षेत्रका प्यालेस्टिनीहरूविरुद्ध भएको विनाशकारी युद्धपछिको यो पहिलो मतदान हो, जसलाई इजरायलको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण चुनावमध्ये एक भनिएको छ।

    यस चुनावले इजरायल सरकारको भावी दिशा तय गर्नेछ । किनकि देश अझै पनि वर्षौंदेखि चलिरहेका बहुपक्षीय द्वन्द्वहरूमा जेलिएको छ । इजरायलले अन्तर्राष्ट्रिय आलोचनाको सामना गरिरहेको छ । स्वदेशमै पनि राजनीतिक विभाजन गहिरिँदै आएको छ ।

    यसबीच मंगलबार हुने निर्वाचनका बारेमा थाहा पाउनुपर्ने पाँच मुख्य मुद्दा निम्न छन्ः

    १) मुख्य दलहरू कुन–कुन हुन् र जनमत सर्वेक्षणले के देखाउँछन् ?

    संसद (क्नेसेट) मा प्रवेश गर्न जुनसुकै दलले न्यूनतम ३.२५ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्छ । संसदको कार्यकाल चार वर्षको हुन्छ । यहाँ सरकारको नेतृत्व गर्न मुख्य दुई गठबन्धनबीच प्रतिस्पर्धा छ ।

    पहिलो नेतान्याहु समर्थक गठबन्धन हो, जसको नेतृत्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले गरिरहेको छ । यसमा धेरै कट्टरपन्थी र अति परम्परावादी धार्मिक दलहरू सामेल छन् । यिनमा युनाइटेड तोराह जुडाइजम र शास दुवै रूढिवादी धार्मिक दलहरू तथा कट्टर दक्षिणपन्थी मन्त्रीहरू इतामार बेनग्विर र बेजालेल स्मोटरिचको नेतृत्वमा रहेका ओत्ज्मा येहुदी र रिलिजियस जियोनिजम–जेहुत पनि सहभागी छन् ।

    मुख्य विपक्षी गठबन्धनमा चारवटा यहुदी नेतृत्वका विपक्षी आन्दोलनहरू रहेका छन् । जसमा पूर्वइजरायली सैन्य प्रमुख गादी आइसेनकोटको नेतृत्वमा रहेको यशार पार्टी, पूर्वउपसैन्य प्रमुख याइर गोलानको नेतृत्वमा रहेको द डेमोक्रेट्स, पूर्वअर्थमन्त्री एभिग्डोर लिबरम्यानको नेतृत्वमा रहेको यिस्राएल बेइतेनु पार्टी र पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको नेतृत्वमा रहेको टुगेदर गठबन्धन, जसमा क्नेसेटका विपक्षी नेता याइर लापिड पनि सामेल छन् ।

    नयाँ सर्वेक्षण प्रकाशनमा शुक्रबारदेखि रोक लगाइनुअघि सार्वजनिक भएका पछिल्ला जनमत सर्वेक्षणहरूले कुनै पनि गठबन्धनले ६१ सिटको स्पष्ट बहुमत ल्याउन नसक्ने देखाएका छन् ।

    सार्वजनिक प्रसारण संस्थाको जनमत सर्वेक्षणअनुसार १२० सिटको क्नेसेटमा विपक्षी गठबन्धनले ५२ सिट र नेतान्याहुको गठबन्धनले ५० सिट जित्ने अनुमान गरिएको छ । बाँकी सिटहरू कुनै पनि गठबन्धनमा नरहेका दलहरूले पाउनेछन्, जसमा देशका दुई मुख्य अरब–बहुसङ्ख्यक राजनीतिक सूचीहरू राअम, जसलाई युनाइटेड अरब लिस्ट पनि भनिन्छ र जोइन्ट लिस्ट (हदाश, बलाड र ताअल पार्टीहरूको गठबन्धन) रहेका छन् ।

    तथापि नेतान्याहु समर्थक र नेतान्याहुविरोधी दुवै गठबन्धनले तत्कालका लागि अरब नेतृत्वका दलहरूसँग हात मिलाउने सम्भावनालाई अस्वीकार गरेका छन् ।

    यो विभाजित अवस्थाको अर्थ इजरायली दलहरूले बहुमतको सरकार बनाउन चुनावपछि कठिन सहकार्य गर्नुपर्ने हुनसक्छ । यदि ती प्रयासहरू असफल भएमा, इजरायलमा सत्तारूढ गठबन्धन बाहिरका दलहरूको समर्थनमा निर्भर अल्पमतको सरकार बन्नसक्छ वा पुनः अर्को चरणको निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ ।

    २) के के हुन् मुख्य मुद्दाहरू ?

    यस निर्वाचन चक्रमा इजरायलीहरू घरेलु र अन्तर्राष्ट्रिय सङ्कटहरूको शृङ्खलासँग जुधिरहेका छन् । घरेलु मोर्चामा सन् २०२३ अक्टोबरको आक्रमणसम्म पुर्‍याउने सुरक्षा कमजोरीहरूको जवाफदेहिताको माग बढ्दो छ ।

    साथै तीव्र रूपमा बढिरहेको अति अर्थोडक्स समुदायलाई सैन्य सेवाबाट दिइएको छुटप्रति आक्रोश छ र नेतान्याहुले पटक पटक अघि बढाउन खोजेको न्यायिक सुधारप्रति चिन्ता छ, जसलाई आलोचकहरूले इजरायलको उदार लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कदम भनेका छन् ।

    युद्धबाट थाकेका जनताले इजरायलले आफ्ना बहुपक्षीय सैन्य द्वन्द्वहरूलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुराको लेखाजोखा पनि गरिरहेका छन् । धेरै मतदाताहरू सुरक्षा र आर्थिक स्थिरता चाहन्छन् । तर गाजा, कब्जा गरिएको वेस्ट बैङ्क र लेबनानमा कुनै पनि सम्झौता वा लचकता अपनाउन भने तयार छैनन् ।

    ३) किन धेरै महत्त्वपूर्ण छ यो चुनाव ?

    यो चुनाव यस्तो समयमा हुँदैछ, जब इजरायलको अन्तर्राष्ट्रिय साख खस्किएको छ । इजरायलका धेरै सहयोगी राष्ट्रहरूले कब्जा गरिएको वेस्ट बैङ्कमा रहेका उसका गैरकानुनी बस्तीहरूमाथि प्रतिबन्ध लगाएका छन् भने अन्य धेरै देशहरूले गाजा र लेबनानमा इजरायलले जारी राखेको आक्रमणको भर्त्सना गरेका छन् ।

    सेप्टेम्बर २४ मा नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दा विश्वभरका दर्जनौं कूटनीतिज्ञहरू होहल्ला र विरोध गर्दै सभाहलबाट बाहिरिएका थिए ।

    आगामी मतदानको परिणामले इजरायलको नयाँ सरकारले अन्तर्राष्ट्रिय समुदायप्रतिको आफ्नो वर्तमान दृष्टिकोणलाई नै निरन्तरता दिन्छ कि सम्बन्ध सुधार गर्ने प्रयास गर्छ भन्ने कुरा तय गर्नेछ ।

    ४) के यो निर्वाचनले नेतान्याहुको राजनीतिक भविष्य तय गर्नेछ ?

    गत १७ वर्षमध्ये १५ वर्षभन्दा बढी र कुल १९ वर्ष देशको नेतृत्व गरिसकेका इजरायलका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री नेतान्याहुले अक्टोबर ७ को आक्रमणअघिको सुरक्षा असफलता र सन् २०१९ देखि खेपिरहेको भ्रष्टाचारको आरोपलाई लिएर देशभित्र र बाहिर तीव्र छानबिनको सामना गरिरहेका छन् ।

    चुनावी हारले नेतान्याहुलाई उनीविरुद्ध चलिरहेको भ्रष्टाचारको मुद्दामा थप जोखिममा पार्नेछ । जसका कारण दोषी सावित भएमा उनी जेलसम्म जानुपर्ने हुनसक्छ ।

    नयाँ सरकार बन्दा सन् २०२३ अक्टोबरको आक्रमणबारे सम्भावित छानबिन आयोगको गठन र अन्तर्राष्ट्रिय अपराध अदालतले युद्ध अपराधका लागि जारी गरेको पक्राउ पुर्जीको सामना गरिरहेका नेतान्याहुको राजनीतिक जीवनमा पनि असर पर्नसक्छ।

    ५) इजरायलका प्यालेस्टिनी नागरिकहरूको स्थिति के छ ?

    मंगलबार हुने चुनावमा करिब ७३ लाख इजरायली नागरिक मतदानका लागि योग्य छन्, जसमा करिब १२ लाख इजरायलका प्यालेस्टिनी नागरिकहरू समावेश छन् ।

    अर्कोतर्फ गाजा, कब्जा गरिएको वेस्ट बैङ्क र कब्जा गरिएको पूर्वी जेरुसेलममा रहेका करिब ३० लाख वयस्क प्यालेस्टिनीहरूलाई भने उनीहरूको सीमा, आवतजावत र कानुनी स्थिति नियन्त्रण गर्ने सरकार चुन्ने कुनै अधिकार छैन ।

    हालैका जनमत सर्वेक्षणहरूले इजरायलका प्यालेस्टिनी नागरिकहरूबीचको मतदान प्रतिशत ६० प्रतिशतसम्म पुग्न सक्ने देखाएका छन्, जसमा अधिकांश मत अरब दलहरूलाई जाने अपेक्षा गरिएको छ, जो इजरायलका प्यालेस्टिनी नागरिकहरूका मुख्य प्रतिनिधि हुन् । यदि मतदान ६५ प्रतिशत पुगेमा यी दलहरूले क्नेसेटमा १५ सिटसम्म जित्न सक्नेछन् ।

    अभियान्ताहरूले ७० प्रतिशत मतदान गराउने लक्ष्य राखेका छन् । जुन दशकौंपछिकै उच्च हुनेछ र यसले थ्रेसहोल्ड बढाएर साना दलहरूलाई संसद बाहिरै राख्न मद्दत गर्नेछ ।

    गत महिना इजरायलको केन्द्रीय निर्वाचन समितिले जोइन्ट लिस्ट र राअमलाई चुनाव लड्नबाट रोक लगाउने निर्णय गरेको थियो। इजरायलको सर्वोच्च अदालतले तुरुन्तै उक्त निर्णय उल्टाउँदै अरब दलहरूलाई प्रतिस्पर्धामा कायमै रहने बाटो खोलिदिएको थियो ।

    तर अदालतले बलाडका नेता सामी अबु शेहादेहलाई अक्टोबर ७ को आक्रमणलाई ‘एक महत्त्वपूर्ण ऐतिहासिक घटना’ भनेर वर्णन गरेको एक लेखका कारण दौडबाट हट्न बाध्य पारेका थियो ।

    अरब दलहरूको भूमिका निकै महत्त्वपूर्ण हुने देखिन्छ । दुवै मुख्य गठबन्धनहरूले तत्कालका लागि उनीहरूसँग हात मिलाउने सम्भावनालाई अस्वीकार गरेका छन् । तर उनीहरूको साथविना कुनै पनि गठबन्धनले बहुमत ल्याउन नसक्ने स्थिति छ ।

    नेतान्याहुले आफ्ना विरोधीहरूलाई अरब दलहरूका सम्भावित साझेदारका रूपमा चित्रण गर्ने प्रयास गर्दै आएका छन् । उनले विपक्षी नेतृत्वको सरकारले अरब दलहरूको समर्थन खोज्ने र केवल उनको लिकुड पार्टीले मात्र यसलाई रोक्न सक्ने दाबी गर्दै आएका छन् ।

    इजरायली क्नेसेट सदस्य अयमान ओदेहका पूर्वसल्लाहकार जोसेफ मन्सुरका अनुसार अरब दलहरूलाई राजनीतिक रूपमा अलग्याउनु नेतान्याहुको राजनीतिक रणनीति हो । यदि कुनै पनि गठबन्धनले बहुमत ल्याउन नसकेमा यसले उनलाई कार्यबाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहन मद्दत पुर्‍याउनेछ ।

    -एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images