images
images
  • बीपी राजमार्गमा धूलो र जामको सास्ती

    काठमाडौं – दसैँ मनाएर राजधानी फर्किने यात्रुको चाप बढेसँगै बीपी राजमार्गमा धूलो र ट्राफिक जामको समस्या चर्किएको छ । बाढीले क्षति पुर्‍याएको सडक पुनर्निर्माण नसकिँदा र साँघुरा पुलका कारण यात्रुले सास्ती खेप्नुपरेको छ ।

    पूर्वी तराईलाई राजधानीसँग जोड्ने बीपी राजमार्गमा पछिल्ला दिनमा सवारीसाधनको चाप अत्यधिक बढेको छ । राजमार्गको भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । उक्त खण्डमा सडक पूर्ण रूपमा सुधार हुन नसक्दा यात्रुले धूलो र जामको समस्या भोगिरहेका छन् ।

    दिक्तेल–काठमाडौँ रुटमा टाटा सुमो चलाउँदै आएका चालक सञ्जय श्रेष्ठका अनुसार धूलोका कारण अगाडिको बाटोसमेत स्पष्ट देख्न कठिन हुन्छ । “यो सडक अझै बनेन, धूलोका कारण गाडी चलाउन एकदमै गाह्रो भएको छ,” उनले भने, “सडक नबन्दासम्म पानी हाल्ने व्यवस्था गरिदिए पनि गाडी चलाउन धेरै सहज हुने थियो ।” धूलोका कारण दुर्घटनाको जोखिमसमेत बढेको उनले बताए ।

    बाढीले क्षति पुर्‍याएको खण्डमा विभिन्न ठाउँमा खोलाबाटै अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको छ । खोलाको किनार हुँदै सवारी चलाउँदा धूलो बढी उड्ने गरेको छ । त्यसमाथि सडक दुई लेनमा विस्तार भइरहे पनि पुल भने एक लेनका मात्र हुँदा सवारी आवागमन प्रभावित भएको छ । साँघुरा पुलका कारण एकैपटक दुवैतर्फका सवारीसाधन पार हुन नसक्दा जाम बढ्ने गरेको छ ।

    सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले दसैँका कारण सवारी चाप बढेको र धूलो नियन्त्रण गर्न पानी हाल्ने काम भइरहेको बताए । उनका अनुसार बिहानैदेखि सडकमा पानी हाल्ने गरिएको छ भने निर्माण व्यवसायीलाई दिउँसो पनि दुई पटक पानी हाल्न निर्देशन दिइएको छ । बजार र बस्ती भएका क्षेत्रमा नियमित रूपमा पानी हाल्ने गरिएको उनको भनाइ छ ।

    ओभरटेक गर्ने र लेन मिचेर सवारी चलाउने प्रवृत्तिले पनि जाम बढाएको योगेशले बताए । सामान्य अवस्थामा बीपी राजमार्गमा दैनिक चारदेखि पाँच हजार सवारीसाधन आवतजावत गर्ने गरेकामा अहिले १० हजारभन्दा बढी सवारी चलिरहेको उनले जानकारी दिए ।

    राजमार्गको क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी विभिन्न प्याकेजमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको उनले बताए । आगामी वर्षको दसैँसम्म सडक कालोपत्र गरेर सहज आवागमन सुनिश्चित गर्ने लक्ष्य रहेको योगेशको भनाइ छ ।

    यसैबीच, नागढुंगा–मुग्लिन सडकखण्डमा सवारी चाप रहे पनि ठूलो ट्राफिक जामको समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ । नागढुंगा उकालोमा सडक भासिएपछि त्यहाँ सवारी सञ्चालनमा रोक लगाइएको र नागढुंगा सुरुङमार्ग खुला गरिएकाले जाम कम भएको प्रहरीको भनाइ छ । सामान्य अवस्थामा यस खण्डमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने गरेकामा दसैँका बेला त्यसको सङ्ख्या तीन गुणासम्म पुग्ने गरेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्दो क्रममा छ । सडकका विभिन्न स्थानमा लेन मिचेर सवारी चलाउँदा जाम हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए ।

    सडक सुरक्षाका लागि यस वर्ष सवारीसाधनको यान्त्रिक परीक्षण, टायर, इन्जिन र ब्रेकको अवस्था जाँच तथा वातावरणीय प्रदूषणको परीक्षणमा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । ओभरलोड नियन्त्रण र लामो दूरीका सवारीमा दुई चालक अनिवार्य राख्ने व्यवस्थाको अनुगमन गरिएको छ । त्यसैगरी, सवारी प्रस्थान गर्नुअघि चालक र सहचालकले मादक पदार्थ तथा लागूऔषध सेवन गरे–नगरेको जाँचसमेत गरिएको छ ।

    ट्राफिक प्रहरीका अनुसार दसैँको टीकाको दिनदेखि आइतबारसम्म एक लाख ४१ हजार ३३२ यात्रु काठमाडौँ उपत्यका भित्रिएका छन् । चाडपर्वमा बढ्ने सवारी चाप व्यवस्थापनसँगै सडकको अवस्था सुधार र धूलो नियन्त्रण गर्न नसक्दा यात्रुको यात्रा भने अझै सहज हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images