काठमाडौं – झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५, सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि छुरा प्रहार भएको हो । घटनामा घाइते बाबुलालको घाँटीमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । छुरा प्रहार गरेपछि फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















