काठमाडौं – दुर्लभ एकसिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्ना टिसर्टलगायतका सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा खर्च गर्ने भएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो वर्ष सहभागी हुन लागेको चितवन राइनोजले क्रिकेटमार्फत चितवन र यहाँको दुर्लभ एकसिङ्गे गैँडालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आएको छ । अब खेलकुद प्रवर्द्धनसँगै गैँडा संरक्षणमा समेत योगदान गर्ने उद्देश्य क्लबले अघि सारेको हो ।
चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले क्लबको नाम नै गैँडासँग जोडिएकाले यसको संरक्षणमा योगदान गर्न लागेको बताए । “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ,” उनले भने ।
क्लबले एकसिङ्गे गैँडाको तस्बिर र संरक्षणसम्बन्धी सन्देशलाई आफ्ना सामग्रीमार्फत प्रचार गर्दै आएको छ। पर्यापर्यटनका माध्यमबाट विश्वमा परिचित चितवन राष्ट्रिय निकुञ्जको पहिचान बनेको गैँडालाई क्रिकेटका माध्यमबाट थप चिनाउने प्रयास क्लबले गरिरहेको छ । चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको चितवन राइनोजले खेलमार्फत जिल्लाको पहिचान र संरक्षणको सन्देशलाई जोड्न खोजेको हो ।
एनपिएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ स्थानमा सीमित भएको थियो। यसपटक भने उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताए ।
क्लबलाई समर्थन गर्न चितवनका विभिन्न स्थानमा खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार वीरेन्द्र क्याम्पस चौर, विशाल चोक र दीपेन्द्र चोकस्थित चितवन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा समर्थकले सामूहिक रूपमा खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।
क्रिकेटको प्रवर्द्धनसँगै सामाजिक गतिविधिमा पनि क्लबले सहकार्य गर्दै आएको देवकोटाले बताए। क्लबले स्थानीय विभिन्न क्लबलाई सहयोग गर्नुका साथै भोटेकोसी बाढीबाट प्रभावितलाई पनि सहयोग गरेको छ । जिल्लामा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा प्रायोजकका रूपमा सहकार्य गर्दै आएको उनले जानकारी दिए ।
“गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवर्द्धनमा हामी लागेका छौँ,” देवकोटाले भने।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले चितवनको नामबाट स्थापित क्लब देशका आठ क्लबमध्ये एक हुनु जिल्लाका लागि गर्वको विषय भएको बताए। “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो,” उनले भने।
खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै सामूहिक भावना विकास गर्न सहयोग गर्ने उल्लेख गर्दै अधिकारीले जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लबको भूमिका महत्त्वपूर्ण हुने बताए ।
एनपिएलमा चितवन राइनोजको सहभागितासँगै जिल्लामा क्रिकेटको माहोल पनि बढेको छ। खेलका बेला होटल, रेस्टुरेन्ट र सार्वजनिकस्थलमा समर्थकहरू भेला भएर खेलको आनन्द लिने गरेका छन्। सडक किनारका बिजुलीका पोल, होटल, रेस्टुरेन्ट तथा सार्वजनिकस्थलमा क्लबको लोगो अङ्कित झन्डा फहराएको देखिन्छ ।
क्रिकेटमार्फत जिल्लाको पहिचान विस्तार गर्ने अभियानसँगै गैँडा संरक्षणमा आर्थिक योगदान गर्ने क्लबको योजनाले खेलकुद र वन्यजन्तु संरक्षणलाई जोड्ने प्रयास गरेको छ ।






















