images
images
  • मुस्ताङ र अन्नपूर्ण आधार शिविर जाने पर्यटकको विश्रामस्थल बन्दै भुरुङ्ग–तातोपानी

    काठमाडौं – मुस्ताङ जाने यात्रादेखि अन्नपूर्ण आधार शिविरको पदयात्रासम्मका पर्यटकका लागि म्याग्दीको भुरुङ्ग–तातोपानी कुण्ड विश्रामस्थलका रूपमा लोकप्रिय बन्दै गएको छ। अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेर यात्राको थकान मेटाउने पर्यटकको चहलपहल बढेसँगै यहाँका होटल तथा पर्यटन व्यवसायमा समेत गतिविधि बढेको छ ।

    बेनी–जोमसोम–कोरला सडकको छेउमा कालीगण्डकी नदी किनारमा रहेको यो कुण्ड अन्नपूर्ण चक्रीय पदमार्ग र मौरिस हर्जोग पदमार्ग हुँदै यात्रा गर्ने पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनेको छ । मुस्ताङ जाने र फर्किने यात्रुका साथै अन्नपूर्ण आधार शिविरतर्फ जाने पदयात्री यहाँ बास बस्ने र तातोपानीमा स्नान गरेर पुनः यात्रामा निस्कने गरेका छन् ।

    काठमाडौंका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको अनुभव सुनाउनुभयो। “यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,” उनले भने, “थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।”

    तातोपानीमा स्नान गर्ने पर्यटकले शरीर न्यानो भएको, थकान कम भएको र दुखाइबाट राहत मिलेको अनुभव सुनाउने गरेका छन् । कालीगण्डकी नदी किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५५ डिग्री सेल्सियस तापक्रमको पानी सङ्कलन गरेर पोखरी र धारामार्फत स्नानका लागि उपलब्ध गराइएको छ । पर्यटकीय याम सुरु भएसँगै यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कुण्डका कर्मचारी प्रितम पुर्जाले बताए ।

    “हिजोआज दैनिक दुईदेखि तीन सय जनाले स्नान गर्छन्,” पुर्जाले भन्नुभयो, “पर्यटक आगमन दैनिक रूपमा बढ्दो छ ।”

    बेनी–जोमसोम सडकको छेउमा रहेको कुण्डमा तातोपानी सङ्कलन गरिएका दुईवटा पोखरी र धारा छन् । पर्यटकले आफूलाई उपयुक्त हुने स्थानमा स्नान गर्न सक्छन् । कुण्ड बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहन्छ। गाउँपालिकाले नेपाली पर्यटकका लागि ५० रुपैयाँ र विदेशी पर्यटकका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ ।

    पर्यटकको चहलपहल बढेसँगै कुण्ड सञ्चालन र व्यवस्थापन पनि स्थानीय आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क सङ्कलन र होटल सञ्चालन गर्ने गरी न्यूनतम नौ लाख ५० हजार रुपैयाँ मूल्य राखेर ठेक्का आह्वान गरिएको हो । कुण्डमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले यसपटक दुई महिनाका लागि मात्रै ठेक्का लगाउन खोजिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images