images
images
  • शिक्षकले आफ्नै छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा बदलियो विद्यालयको शैक्षिक अवस्था

    काठमाडौं – शिक्षक र कर्मचारीले आफ्नै छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन थालेपछि दाङको एक विद्यालयले शैक्षिक सुधारमा उल्लेखनीय प्रगति गरेको छ। दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनियाले विद्यार्थीको नतिजा सुधार गर्दै पश्चिम दाङका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो ।

    विगतमा भौतिक पूर्वाधार कमजोर हुनुका साथै विद्यार्थी सङ्ख्यासमेत न्यून रहेको यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक क्षेत्रमा सुधार गरेको छ । २०७६ सालदेखि कक्षा ६ को पढाइ सुरु गरेको विद्यालयले त्यसयता विद्यार्थीको सिकाइ र परीक्षाको नतिजालाई प्राथमिकता दिँदै आएको छ ।

    विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारूका अनुसार हालसम्म विद्यालयबाट एसइईका चार ब्याचका विद्यार्थीले परीक्षा दिइसकेका छन् । एसइईसँगै कक्षा ८ को परीक्षामा पनि विद्यालयले पश्चिम दाङका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरेको उनले बताए । गत वर्षको एसइई परीक्षामा विद्यालयका छ जना विद्यार्थीले ए प्लस ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

    विद्यालयको शैक्षिक सुधारमा शिक्षक तथा कर्मचारीको जिम्मेवारी र प्रतिबद्धताले महत्त्वपूर्ण भूमिका खेलेको प्रधानाध्यापक थारूको भनाइ छ । विद्यालयप्रति शिक्षक र कर्मचारीको अपनत्व बढाउन २०७६ सालदेखि नै उनीहरूका छोराछोरीलाई अनिवार्य रूपमा सोही विद्यालयमा पढाउने निर्णय गरिएको थियो । त्यसको सकारात्मक प्रभाव विद्यालयको शैक्षिक वातावरण र नतिजामा देखिएको उनले बताए ।

    “मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्,” प्रधानाध्यापक थारूले भने, “अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत छन् ।”

    विद्यालयले विद्यार्थीलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ। विषयवस्तुअनुसार अध्यापन गराउन तीन वटा स्मार्ट बोर्ड प्रयोगमा छन्। विद्यार्थीको व्यावहारिक सिकाइका लागि विज्ञान प्रयोगशाला र अध्ययनका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । विद्यालयमा आफ्नै चमेनागृहसमेत छ, जहाँबाट विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    विद्यार्थी बढे, शौचालयको अभाव कायमै

    शैक्षिक उपलब्धि हासिल गर्दै गएको विद्यालयमा विद्यार्थी सङ्ख्या बढेसँगै भौतिक पूर्वाधारको चुनौती पनि थपिएको छ। विशेषगरी शौचालयको अभावले विद्यार्थीलाई सास्ती हुने गरेको छ। विद्यालयमा छात्राका लागि दुई वटा र छात्रका लागि एउटा मात्रै शौचालय छन् । विद्यार्थीले शौचालय प्रयोग गर्न पालो कुर्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ ।

    शिक्षक तथा कर्मचारीका लागि छुट्टै शौचालयको व्यवस्था पनि छैन। विद्यालयमा हाल दुई जना कर्मचारी र १५ जना शिक्षक कार्यरत छन्। विद्यार्थी सङ्ख्या भने ४५० भन्दा बढी पुगेको छ। विद्यार्थीको सङ्ख्या र आवश्यकताअनुसार पूर्वाधार विस्तार गर्नुपर्ने चुनौती विद्यालयसामु देखिएको छ ।

    विसं २०५२ मा स्थापना भएको यस विद्यालयलाई २०७६ सालदेखि स्तरोन्नति गर्ने पहल सुरु गरिएको थियो। तत्कालीन गाउँपालिका शिक्षा समितिका संयोजक वीरबहादुर वलीका अनुसार एक करोड रुपैयाँ बजेट विनियोजन गरी भवन निर्माण गरिएको थियो । त्यसपछि कक्षा थप गर्दै विद्यालयलाई विस्तार गरिएको उनले बताए ।

    ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ अभियानअन्तर्गत थप शिक्षकको व्यवस्था गरिएपछि शिक्षण सिकाइमा सुधार आएको वलीको भनाइ छ ।

    शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाई आफैँले पढाउने विद्यालयमै भर्ना गराउने अभ्यासले सामुदायिक शिक्षाप्रतिको विश्वास बढाउन सहयोग गरेको जनता माध्यमिक विद्यालय बुटनियाको अनुभवले देखाएको छ । तर, बढ्दो विद्यार्थी सङ्ख्याअनुसार शौचालयलगायतका आधारभूत पूर्वाधार विस्तार गर्न सके विद्यालयको शैक्षिक सुधारलाई थप दिगो बनाउन सकिने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images