काठमाडौं – मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि थप तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । पर्साको वीरगन्जस्थित विश्वविद्यालयले स्नातकोत्तर तहमा एमबिए तथा स्नातक तहमा एलएलबी र बिबीएको पठनपाठन सुरु गरेको हो ।
यसअघि विश्वविद्यालयले स्नातकोत्तर तहमा एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी तथा जनप्रशासन सङ्कायतर्फ बिपीएम कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार चालु शैक्षिकसत्र २०८३ देखि थपिएका तीनवटै कार्यक्रम कार्यान्वयनमा आएका छन् । एलएलबीको कक्षा सञ्चालन भइसकेको र बिबीएको कक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिए ।
“एलएलबीको कक्षा सञ्चालन गरिसकेका छौँ र बिबीएको कक्षा पनि सञ्चालनको तयारी अन्तिम चरणमा छ,” यादवले भने, “अहिले एमपिए दोस्रो ब्याचका लागि भर्नासमेत खोलेका छौँ । भर्ना प्रक्रिया सकिएपछि छिट्टै कक्षा सञ्चालन गर्छौँ ।”
विश्वविद्यालयमा सञ्चालन भइरहेका कार्यक्रमप्रति विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप शैक्षिक कार्यक्रम विस्तार गर्न उत्साहित भएको उनले बताए ।
मधेस प्रदेशसभाले २०७९ वैशाख १४ गते मधेस विश्वविद्यालय ऐन जारी गरेपछि सोही वर्ष भदौ २२ गते विश्वविद्यालय स्थापना भएको थियो । स्थापना भएको पहिलो वर्षमै विश्वविद्यालयले दुईवटा सङ्कायमा पठनपाठन सुरु गरेको थियो । हाल विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिएर कार्यालय तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
विश्वविद्यालयलाई अनुसन्धान तथा प्रशिक्षणमा केन्द्रित गर्दै शिक्षण सिकाइलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने योजना रहेको उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले बताए । उनका अनुसार मधेस प्रदेशमै पहिलो ‘मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र’ स्थापना गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ ।
“हामीले सञ्चालन गरेका कक्षामा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ,” उपकुलपति शाक्यले भने, “त्यसैले निकट भविष्यमै मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।”
विश्वविद्यालयले वीरगन्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई आधार बनाएर एमबिबिएस कक्षा सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्न प्राविधिक टोली परिचालन गर्ने तयारीसमेत गरेको छ ।
उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने उद्देश्यले एमफिल र पिएचडी कार्यक्रमसँगै फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि विश्वविद्यालयले अघि सारेको छ ।
मधेस प्रदेशका ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको अवसरमा समेट्ने तथा शिक्षालाई रोजगारी र सीपसँग जोड्ने उद्देश्यले ‘मधेस स्किल स्कुल’ स्थापना गर्ने लक्ष्यसमेत विश्वविद्यालयले लिएको छ ।
शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको दीर्घकालीन उद्देश्य रहेको उपकुलपति शाक्यले बताए ।


विश्व खबर 



















