विराटनगर– विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले नेपाल बीमा प्राधिकरणमा इन्टर्नशीप गर्न पाउने भएका छन् ।
उक्त अवसर सृजना गर्न क्याम्पसले बीमा प्राधिकरणको कोशी प्रादेशिक कार्यालयसँग सम्झौता गरेको छ । विद्यार्थीले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र महर्जनले जानकारी दिए ।
उनका अनुसार इन्टर्नसिपमार्फत विद्यार्थीले बीमा क्षेत्रको संस्थागत संरचना, कार्यप्रणाली, नीति, सेवा प्रवाह तथा नियमनका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ । यो कार्यबाट विद्यार्थीले बीमाको बस्तुस्थिति बुझ्न, बीमा क्षेत्रमा अनुसन्धान र बीमाका क्षेत्रमा रोजगारीका लागी थप टेवा पुग्ने विश्वास गरिएको छ ।
बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन हुनुपर्ने साथै बीमा सचेतनाको बृद्धि र बीमा क्षेत्रलाई नियमन गर्दै युवा पुस्तामा बीमासम्बन्धी ज्ञान र चेतना विस्तारलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ । शैक्षिक संस्थासँगको सहकार्यले विद्यार्थीलाई बीमा क्षेत्रका अवसर र चुनौतीबारे नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास प्राधिकरणको छ ।
क्याम्पसका विद्यार्थीका लागि इन्टर्नशीप कार्यक्रमले अध्ययन र रोजगारीको क्षेत्रबीचको दूरी कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसबाट विद्यार्थीले भविष्यमा बीमा, बैंकिङ तथा वित्तीय क्षेत्रमा आफ्नो करियर निर्माणका लागि आवश्यक सिप र अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् ।


विश्व खबर 


















