काठमाडौं– केन्द्रका शीर्ष नेतृत्वबीच कुरा नमिल्दा मधेस सरकार गठनमा अझै अन्योल देखिएको छ ।
कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वमा गठन भएको सरकारबाट एमाले र नेकपा बाहिरिएपछि यादवले राजीनामा दिएका थिए ।
प्रदेश प्रमुखले शुक्रबार ४ बजेसम्म संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि बहुमतसहित दाबी गर्ने समय सीमा दिएका छन् ।
बिहीबारसम्म कसले सरकारको दाबी गर्ने भन्ने अन्योल यथावत रहेको छ ।
दलहरूबीच सहमति हुन नसक्दा अन्योल रहेको एक नेताले बताए ।
जसपाबाट सम्भावित मुख्यमन्त्री सरोज यादव एमालेसँग मिलेर सरकार गठन गर्ने पक्षमा भएपनि केन्द्रको हाइकमाण्डका नेतहरू उपेन्द्र यादव, महन्थ ठाकुर र शरदसिंह भण्डारी त्यसका विपक्षमा देखिएका छन् ।
उनीहरूले एमालेसँग मिलेर सरकार बनाएमा आगामी स्थानीय चुनावमा नराम्ररी हार ब्यहोर्ने तर्क अगाडि सारेका छन् ।
केन्द्रको हाइकमान र प्रदेश नेतृत्वको कुरा नमिल्दा जसपाभित्र विवाद बढेको छ ।
२७ जना प्रदेश सभाका सदस्यमध्ये १५ जना सरोजको नेतृत्वमा एमालेसँग मिलेर सरकार गठन गर्ने पक्षमा रहेको एक नेताले बताए ।
त्यसैगरी कांग्रेसका अहिलेका मुख्यमन्त्री कृष्णप्रसाद यादव भने एमालेको नेतृत्व सरकार गठन गरेर जानुपर्ने पक्षमा देखिएको एक नेताले बताए ।
यद्यपि सरकार गठनका लागि दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेको छ ।






















