काठमाडौं – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौँडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना।१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।
दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो।
हेटौँडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले बिहान ९ः२० बजे तीन जनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका अन्य सात जनाको अस्पतालमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।






















