काठमाडौं– पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ ।
प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनअघि र पछि राजधानी ढाकासहित २८ जिल्लामा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।
पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखामा आगजनी गरिएको छ ।
चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगो लगाएको छ ।
हिंसाका क्रममा ढाकामा कम्तीमा चार जना घाइते भएका छन् ।
नराइलमा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि गरेको आक्रमणमा दुई स्थानीय नेताको मृत्यु भएको छ ।
फरीदपुर र पिरोजपुरमा पनि एक बीएनपी नेता र एक यातायात मजदुरको ज्यान गएको समाचार छ ।
अवामी लिगले शेख हसिनालाई मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको एक वर्ष पुगेको अवसर पारेर लकडाउन आह्वान गरेको थियो ।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् ।
उनले आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा पनि बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको हो ।
हिंसा नियन्त्रणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रहरीले पछिल्लो २४ घण्टामा ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हसिना नेतृत्वको सरकारका पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् ।
सरकारले संवेदनशील जिल्लामा अर्धसैनिक बल परिचालन गरेको छ ।
गृहमन्त्री सलाहुद्दिन अहमदले हिंसात्मक गतिविधिमा संलग्नलाई प्रमाणका आधारमा कडा कारबाही गरिने बताएका छन् ।
सन् २०२४ मा हसिना सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो हिंसाले बंगलादेशमा राजनीतिक अस्थिरता पुनः चर्किएको संकेत गरेको छ ।






















