काठमाडौं– विवादित न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै निर्णय कार्यान्वयनमा अलमलिएको छ ।
सचिवालयले निर्णय गरेको १९ दिन बितिसक्दा पनि संसदीय दलको बैठक बोलाइएको छैन ।
गत कात्तिक १४ गते बसेको पार्टी सचिवालय बैठकले बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायत न्यायाधीशले भेट गरेको विषयमा छानबिन र कारबाहीका लागि महाभियोग प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको थियो ।
तर, प्रधानमन्त्री तथा दलका नेता वालेन्द्र शाह (बालेन)ले बैठक बोलाउन चासो नदेखाउँदा निर्णय कार्यान्वयन अन्योलमा परेको हो ।
पार्टीभित्रै पनि महाभियोग प्रक्रिया अघि बढाउने विषयमा मतभेद देखिएको छ ।
रास्वपा सचेतक प्रकाशचन्द्र परियारले सचिवालयको निर्णय कार्यान्वयनबारे औपचारिक छलफल नभएको बताए ।
प्रधानमन्त्रीको भारत भ्रमण, सांसदहरूको कोप–३१ सहभागिता र चीन भ्रमणलगायत विषय प्राथमिकतामा परेकाले संसदीय दलको बैठक बस्न नसकेको उनको भनाइ छ ।
उनले सचिवालयको निर्णय संसदीय दलमार्फत अघि बढाउने विषय अहिले स्थगितजस्तै अवस्थामा रहेको पनि स्वीकार गरे ।
सांसद यज्ञमणि न्यौपानेले भने निर्णय कार्यान्वयनबारे केही दिन पर्खिनुपर्ने बताएका छन् ।
यसैबीच, संसद् अधिवेशन आह्वान गर्ने विषयसमेत अन्योलमा परेको छ ।
सभामुख डोलप्रसाद अर्यालले मंसिरको दोस्रो वा तेस्रो सातासम्म अधिवेशन बोलाउने तयारी गरे पनि सरकारको सिफारिस र राजनीतिक सहमति नजुट्दा मिति तय हुन सकेको छैन ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् अधिवेशन सञ्चालनका लागि सचिवालय तयार छ ।
आगामी बैठक निर्माणाधीन संघीय संसद् भवनबाट सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।
रास्वपा स्रोतका अनुसार सभामुख, प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेबीच सहमति नबन्दा अधिवेशन आह्वान अनिश्चित बनेको हो ।
आफ्नै सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्नु र संसद् अधिवेशनको मिति टुंग्याउन नसक्नुले रास्वपा नेतृत्वमाथि दबाब बढाएको छ ।






















