images
images
  • प्रहरी हेडक्वार्टरले बुझेन सर्वोच्चको म्याद

    काठमाडौं– सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि जारी गरिएको म्याद बुझ्न प्रहरी प्रधान कार्यालयले अस्वीकार गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीको नाममा जारी म्याद बुझाउन बिहीबार सर्वोच्च अदालतका कर्मचारी प्रहरी प्रधान कार्यालय पुगेको थियो। तर पत्रको भाषा नमिलेको भन्दै सचिवालयले म्याद बुझ्न अस्वीकार गरेको हो।

    सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेशका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई उपस्थित हुन आदेश दिएको थियो। सोही आदेशअनुसार म्याद तामेलीका लागि पुगेका अदालतका कर्मचारीलाई प्रहरी महानिरीक्षकको सचिवालयले म्याद बुझ्न अस्वीकार गरेको हो।

    तर प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले भने प्रहरी प्रधान कार्यालयमा सर्वोच्च अदालतबाट कुनै पत्र नआएको दाबी गरेका छन्।

    ‘सर्वोच्चबाट कुनै पनि पत्र आएको छैन’, उनले भने।

    प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएपछि दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले बुधबार तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images