images
images
  • सामुहिक गिरफ्तारीको माग गर्दै पत्रकारहरुले आन्दोलन गर्ने

    काठमाडौ – नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत तथा श्रम अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
    घोषित आन्दोलन अनुसार महासंघले मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला भई ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित विरोध प्रदर्शन गर्ने जनाएको छ ।
    महासंघले प्रेस विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउनेमाथि कारबाही नभएको विषयमा विरोध जनाएको छ ।
    त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासंघले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएको छ।

    महासंघले जारी गरेको आन्दोलनका कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइने महासंघले जनाएको छ ।

    यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images