images
images
  • ताइवानबारे गलत कदम नचाल्न ट्रम्पलाई सीले चेतावनी दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमको दाबी

    काठमाडौं– चीनका राष्ट्रपति सी जिनपिङले ताइवानको विषयमा गलत कदम नचाल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका छन्।

    उनले ताइवानको विषयमा अमेरिकाले सही निर्णय लिनुपर्ने भन्दै त्यसो नगरे चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर धक्का लाग्न सक्ने बताएका छन्।

    चिनियाँ सरकारी सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्ताका क्रममा सीले यस्तो धारणा राखेको जनाएका छन्।

    सीले तत्काल समाधान हुन नसक्ने मतभेदलाई पनि रचनात्मक ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। मतभेदलाई थप चर्किन नदिन दुवै देशले आवश्यक सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

    ‘चीन र अमेरिकाले समस्याको सूची छोट्याउँदै सहकार्यको सूची विस्तार गर्नुपर्छ’, सीले भनेका छन्।

    उनले कृत्रिम बुद्धिमता (एआई) बाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिम न्यूनीकरण गर्न पनि चीन र अमेरिकाबीच सञ्चार तथा समन्वय बलियो बनाउनुपर्ने बताएका छन्।

    एआई सधैँ मानव नियन्त्रणभित्र रहनुपर्नेमा सीले जोड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images