काठमाडौं– स्थानीय निर्वाचनको तिथि तय भएको छैन ।
तर निर्वाचन आयोगमा भने चहल पहल जस्तै देखिएको छ ।
स्थानीय निकायमा गैर दलीय चुनावका माग गर्न जानेको लर्को नै लाग्न थालेको छ ।
गैरदलीय स्थानीय तह निर्माणको माग गर्ने दुई समूहले बिहीबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।
‘स्वतन्त्र नागरिक अभियान’ र ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’को टोली निर्वाचन आयोग पुगेर छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएको हो ।
बिहान सवा ११ बजेतिर स्वतन्त्र नागरिकको तर्फबाट अध्यक्ष तथा पूर्व पत्रकार ऋषि धमलाको नेतृत्वमा ७/८ जनाको टोली बहादुर भवन पुगेको थियो ।
उनीहरूले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापन पत्र बुझाएको बताइएको छ ।
त्यसलगत्तै अभियन्ताहरूको अर्को टोली ज्ञापन पत्र लिएर बहादुर भवन छिरेको थियो ।
संयोजक दिनेश सुवेदीको नेतृत्वको टोलीमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलब केसीलगायत डेढ दर्जन उपस्थित थिए ।
उनीहरूले पनि प्रमुख निर्वाचन आयुक्त कार्कीलाई भेटेर गैरदलीय स्थानीय सरकार सुनिश्चितताको माग गर्दै पत्र बुझाएको बताइएको छ ।
त्यसपश्चात् जमल चोकमा भेला भई र्याली गर्ने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ ।





















