काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलबाट ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाम अन्तिम समयमा हटाइएको छ ।
भ्रमणको तयारी भइरहेका बेला बुधबार परराष्ट्र मन्त्रालयले मन्त्री श्रेष्ठको नाम सूचीबाट हटाएको स्रोतले जनाएको छ ।
यसअघि भ्रमणमा ऊर्जा तथा सिँचाइका विषयलाई समेत प्राथमिकताका साथ उठाउने तयारी थियो ।
मन्त्री श्रेष्ठलाई आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयबाट खबरसमेत गरिएको थियो ।
तर, अन्तिम समयमा उनको नाम हटाइएपछि नेपाल–भारत ऊर्जा सहकार्यका विषय ओझेलमा पर्न सक्ने आशंका गरिएको छ ।
मन्त्री श्रेष्ठको सट्टा ऊर्जासचिव डा.जगदीश्वर कर्माचार्य भ्रमणमा सहभागी हुने तयारी छ ।
प्रधानमन्त्रीको भ्रमण अवधिमा मन्त्रीलाई कार्यवाहक दिनुपर्ने अवस्था आउन सक्ने भएकाले नाम हटाइएको स्रोतको दाबी छ ।
नेपालका लागि भारत सबैभन्दा महत्वपूर्ण विद्युत् बजारमध्ये एक हो ।
नेपालले सन् २०३५ सम्म भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेको छ ।
साथै, विद्युत् आयात, प्रसारण लाइन, भारतीय लगानी र वर्षौंदेखि अलपत्र जलविद्युत् आयोजनाका विषयमा दुई देशबीच छलफल आवश्यक छ ।
ऊर्जा क्षेत्रमा सहकार्य विस्तार र लगानीका अवरोध समाधान गर्न प्रधानमन्त्रीको भारत भ्रमण महत्वपूर्ण अवसर मानिए पनि ऊर्जामन्त्री नै सहभागी नहुने भएपछि ऊर्जा क्षेत्रका महत्वपूर्ण एजेन्डा प्राथमिकतामा नपर्ने चिन्ता व्यक्त गरिएको छ ।





















