images
images
  • राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन, एआईदेखि उद्यमशीलतासम्म जोड दिन माग

    काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट रचनात्मक सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिएको छ । पाठ्यक्रमलाई समयसापेक्ष र व्यवहारिक बनाउन नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता, सङ्केत लेखन, जलवायु परिवर्तन, सीप तथा उद्यमशीलतालाई प्राथमिकताका साथ समेट्नुपर्ने सुझाव प्राप्त भएका छन् ।

    सातै प्रदेशमा सञ्चालन गरिएको सुझाव सङ्कलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन् । पाठ्यक्रम विकास केन्द्रले २८ जिल्लाका नगरपालिका, गाउँपालिका, विद्यालय तथा कक्षाकोठामै पुगेर विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गरेको हो ।

    केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम गतिशील दस्तावेज भएकाले समयअनुसार यसको परिमार्जन तथा अद्यावधिक आवश्यक रहेको बताउनुभयो ।

    उहाँका अनुसार विज्ञसँगै पाठ्यक्रमका प्रमुख प्रयोगकर्ता र सरोकारवालालाई प्रत्यक्ष सहभागी गराएर सुझाव सङ्कलन गरिएको हो । कक्षाकोठामै पुगेर विद्यार्थी र शिक्षकसँग पाठ्यक्रम कार्यान्वयनको अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा आवश्यक सुधारका विषयमा पृष्ठपोषण लिइएको उनले बताएको छ ।

    सुझाव सङ्कलनका लागि सातै प्रदेशका ४६ केन्द्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । कोशी प्रदेशमा सात, मधेसमा १०, बागमतीमा पाँच, गण्डकीमा छ, लुम्बिनीमा आठ, सुदूरपश्चिममा पाँच र कर्णालीमा पाँच केन्द्रमा कार्यक्रम आयोजना गरिएको थियो ।

    मधेस प्रदेशमा सबैभन्दा बढी १० केन्द्रमा कार्यक्रम गरिएको थियो । पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको चन्द्रपुर, सर्लाही, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दिवास तथा औरही, सिराहा र सप्तरीका विभिन्न स्थानमा विद्यालय, स्थानीय तह, मन्त्रालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग छलफल गरिएको थियो ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित मन्त्रालयको उच्चस्तरीय टोलीले भदौ २६ देखि २९ गतेसम्म मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर विद्यार्थी तथा सरोकारवालासँग छलफल गरेको थियो ।

    शिक्षालाई व्यवहारिक बनाउन जोड

    सरोकारवालाले विद्यालय शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका छन् । विद्यालय तहदेखि नै शिक्षासँगै सीप, व्यावसायिक ज्ञान तथा उद्यमशीलताको विकासमा जोड दिनुपर्ने सुझाव प्राप्त भएको छ ।

    सूचना प्रविधिको तीव्र विकासलाई ध्यानमा राख्दै कृत्रिम बुद्धिमत्ता तथा सङ्केत लेखनसम्बन्धी ज्ञानलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने विषय पनि प्राथमिकताका साथ उठेको छ ।

    त्यस्तै, जलवायु परिवर्तनसँग अनुकूलन गर्न आवश्यक ज्ञान तथा सीप, विपद्जन्य घटना र विपद् व्यवस्थापनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।

    नैतिक शिक्षा तथा संस्कारमा आधारित शिक्षालाई थप बलियो बनाउनुपर्ने विषयसमेत छलफलका क्रममा उठेको केन्द्रले जनाएको छ ।

    शिक्षक तयारी र मूल्याङ्कन प्रणाली सुधारमा जोड

    सरोकारवालाले पाठ्यक्रम सुधारसँगै शिक्षकको पेशागत विकास तथा शिक्षक तयारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

    पाठ्यक्रम, शिक्षण विधि तथा मूल्याङ्कन प्रणालीलाई थप समावेशी र प्रभावकारी बनाउनुपर्ने सुझावसमेत प्राप्त भएको छ ।

    विद्यालयमा अभ्यास भइरहेका ‘पुस्तकरहित दिन’ तथा ‘झोलारहित दिन’ जस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझाव पनि सरोकारवालाले दिएका छन् ।

    १२ विषयगत अध्ययन र अनुसन्धानका निष्कर्ष समेटिने

    पाठ्यक्रम विकास केन्द्रका अनुसार सरोकारवालाबाट प्राप्त सुझावसँगै विज्ञहरूले तयार पारेका १२ वटा विषयगत अध्ययन तथा विभिन्न अनुसन्धान प्रतिवेदनका निष्कर्षलाई पनि पाठ्यक्रम परिमार्जनको आधार बनाइनेछ ।

    देशभरबाट सङ्कलित सुझाव तथा पृष्ठपोषणको विश्लेषण गरी विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबाट प्राप्त सुझावलाई एकीकृत गरिनेछ । त्यसका आधारमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनको प्रक्रिया अघि बढाइने केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images