काठमाडौं – सिँचाइ अभावका कारण खेती गर्न समस्या भोग्दै आएका किसानलाई लक्षित गरी भूमिगत जलसिँचाइ आयोजना चितवनले चालु आर्थिक वर्षमा पाँच जिल्लाका अधुरा आयोजना सम्पन्न गर्ने भएको छ । चितवनसहित नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा र पर्सामा सञ्चालन भइरहेको आयोजनाले ट्युबवेल निर्माणपछि बाँकी रहेका विद्युतीकरण, मोटर जडान, पम्पघर निर्माण र पाइपलाइन विस्तारका कामलाई प्राथमिकता दिएको छ ।
आयोजनाले अधुरा संरचना पूरा गर्न यस वर्ष १० करोड रुपैयाँ विनियोजन गरेको छ । आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार यसअघि ट्युबवेल खनिए पनि बजेट अभावका कारण सञ्चालनमा आउन नसकेका स्थानमा बाँकी काम अघि बढाइँदै छ। यस क्रममा १६ भन्दा बढी स्थानका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“ट्युबवेल निर्माण भइसकेका तर अन्य संरचना नबन्दा सञ्चालनमा आउन नसकेका आयोजनालाई यस वर्ष प्राथमिकता दिएका छौँ,” केसीले भने । पाँचै जिल्लाको आवश्यकताका आधारमा सिँचाइ आयोजना सम्पन्न गरिने उनले जानकारी दिए ।
आयोजनाले नयाँ ट्युबवेल निर्माणका लागि पाँच स्थानमा चार करोड रुपैयाँ छुट्याएको छ । यसका साथै सञ्चालनमा रहेका भूमिगत सिँचाइ प्रणालीको मर्मतसम्भार पनि गरिनेछ। चालु आर्थिक वर्षमा भूमिगत जलसिँचाइका लागि आयोजनाले कुल २५ करोड रुपैयाँ बजेट पाएको छ ।
चितवनमा मात्रै ३ हजार ५८४ हेक्टरमा सिँचाइ
आयोजनाले विसं २०७७ देखि काम सुरु गरेयता चितवनमा भूमिगत सिँचाइमार्फत तीन हजार ५८४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याएको छ । आयोजना प्रमुख केसीका अनुसार जिल्लामा हालसम्म १४२ वटा डिप बोरिङ र ३५७ वटा पावरड्रिल ट्युबवेल जडान गरिएका छन् ।
चितवनबाहेक अन्य जिल्लासमेत जोड्दा आयोजनामार्फत हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको केसीले बताए। चितवन, मकवानपुर र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० मा गरी २०२ वटा डिप बोरिङ र ६७० वटा पावरड्रिल ट्युबवेल जडान गरिएको छ । बारा र पर्सा जिल्लालाई भने यसै वर्षदेखि आयोजनामा समेटिएको हो ।
एउटा ट्युबवेलबाट औसतमा ३० हेक्टर आसपासको जमिनमा सिँचाइ गर्न सकिने आयोजनाको भनाइ छ । भूमिगत पानीको उपयोगबाट विशेषगरी सिँचाइ सुविधा कम भएका क्षेत्रका किसानलाई खेतीपाती गर्न सहज भएको छ ।
सिँचाइ पुगेपछि नगदेबालीतर्फ किसान
भूमिगत सिँचाइ सुविधा विस्तारसँगै पानीको अभावमा खेती गर्न नसक्ने किसानले बेमौसमी तरकारी र नगदेबाली उत्पादन गर्न थालेका छन्। समयमा अन्नबाली लगाउन र वर्षामा मात्र निर्भर रहनुपर्ने अवस्था घटाउन पनि यसले सहयोग पुर्याएको आयोजनाले जनाएको छ ।
सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले उत्पादन बढाउनुका साथै आयआर्जनका अवसरसमेत विस्तार गर्न थालेका छन् । विशेषगरी पानीको अभाव हुने तथा सिँचाइका अन्य स्रोतको पहुँच कम भएका क्षेत्रमा भूमिगत सिँचाइ उपयोगी बनेको छ ।
तर, बजेट अभावका कारण किसानको मागअनुसार सबै स्थानमा एकैपटक सिँचाइ सुविधा पुर्याउन नसकिएको आयोजना प्रमुख केसीले बताए । ट्युबवेल खनेपछि आवश्यक विद्युतीकरण, मोटर, पम्पघर र पाइपलाइनको काम समयमै पूरा नहुँदा कतिपय आयोजना सञ्चालनमा आउन ढिलाइ भएको छ।
यस वर्ष अधुरा संरचना सम्पन्न गर्ने र आवश्यक स्थानमा नयाँ ट्युबवेल निर्माण गर्ने योजनाले ती आयोजनालाई सञ्चालनमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । निर्माण भएका संरचना पूर्ण रूपमा सञ्चालनमा आएमा थप कृषि क्षेत्र सिञ्चित हुनुका साथै किसानलाई नियमित उत्पादन र आम्दानी बढाउन सहज हुनेछ ।
























