images
images
  • शुक्लाफाँटा निकुञ्जबाट वन्यजन्तु बस्ती पस्दा साइरन बज्ने, ४० मोबाइलमा सूचना

    काठमाडौं – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा प्रवेश गर्दा स्थानीयलाई तत्काल सतर्क गराउन कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको साझेदारीमा निकुञ्ज छेउको बस्तीमा क्यामेरासहितको पूर्वसूचना प्रणाली जडान गरिएको हो । वन्यजन्तु बस्तीमा प्रवेश गर्दा क्यामेराले तस्बिर खिच्ने, साइरन बज्ने र सम्बन्धित व्यक्तिको मोबाइलमा सन्देश पुग्ने व्यवस्था गरिएको छ ।

    भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीका अनुसार प्रणालीले निकुञ्जबाट बस्तीमा वन्यजन्तु प्रवेश गरेको सूचना समयमै उपलब्ध गराउनेछ । यसबाट स्थानीयले सम्भावित जोखिमबारे जानकारी पाएर सतर्क हुन सक्नेछन् ।

    विशेषगरी रातिको समयमा जङ्गली हात्ती, गैँडा, चितुवा र अन्य वन्यजन्तु बस्तीमा पस्दा अन्नबालीमा क्षति पुग्ने गरेको छ । पूर्वसूचना प्रणालीले वन्यजन्तुको जोखिमबारे जानकारी दिएर स्थानीयको सुरक्षा र बालीनाली संरक्षणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको वडाध्यक्ष चौधरीले बताए ।

    कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाका अनुसार प्रणालीबाट निकुञ्जका कर्मचारी, नेपाली सेनाको सुरक्षा पोस्ट र बस्तीका बासिन्दासहित ४० जनाको मोबाइलमा सूचना पुग्नेछ ।

    “पूर्वसूचना प्रणालीमा क्यामेरा जडान गरिएको छ । निकुञ्जबाट जङ्गली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बज्छ,” ओझाले भने ।

    उनका अनुसार कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब १० लाख रुपैयाँको साझेदारीमा प्रणाली जडान गरिएको हो । मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न तथा वन्यजन्तुबाट हुने क्षति कम गर्न यो प्रणाली प्रभावकारी हुने उनको विश्वास छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा रातिको समयमा हात्ती, चितुवा, गैँडा र बँदेलले किसानका अन्नबालीमा क्षति पुर्‍याउँदै आएका छन् । वन्यजन्तु बस्तीमा प्रवेश गर्नुअघि वा प्रवेश गर्दाको सूचना समयमै पाएमा स्थानीयले जोखिमबाट जोगिन र बालीनालीमा हुने क्षति कम गर्न आवश्यक सतर्कता अपनाउन सक्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images