काठमाडौं – दसैं मनाउन काठमाडौं उपत्यकाबाट यस वर्ष करिब १० लाख सर्वसाधारण गाउँघर फर्किने अनुमान गरिएको छ । सार्वजनिक यातायातमार्फत उपत्यका छाड्ने यात्रुको सङ्ख्या न्यूनतम ६ लाख ५० हजारदेखि अधिकतम ९ लाख ७५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको हो ।
दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेको छ । वर्षदिनमा आउने चाडपर्व परिवार र आफन्तसँग मनाउन सर्वसाधारण महँगो हवाई टिकट, सडक जाम र जोखिमपूर्ण यात्राको सामना गर्दै गाउँ फर्किन थालेका छन् ।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा तयार पारिएको ‘२०८३ दसैँ पर्वको सार्वजनिक यातायात यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदन’ ले यात्रुको चापअनुसार ४३ हजारदेखि ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्ने औँल्याएको छ ।
प्रतिवेदनअनुसार यात्रु ओसारपसारमा ठूला बसको हिस्सा ४८ प्रतिशतभन्दा बढी रहने अनुमान छ । माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत यात्रु बोक्ने प्रक्षेपण गरिएको छ । गजुरेलको नेतृत्वमा १७ सदस्यीय अध्ययन टोलीले प्रतिवेदन तयार पारेको हो ।
फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप उच्च
यस वर्ष दसैँमा असोज ३१ गते फूलपातीदेखि कात्तिक २ गते अष्टमीसम्म यात्रुको चाप सबैभन्दा बढी हुने अनुमान छ । प्रतिवेदनअनुसार फूलपातीका दिन असोज ३१ गते ७५ हजार ५२२ देखि एक लाख १३ हजार २८३ जनासम्म यात्रु उपत्यकाबाट बाहिरिन सक्नेछन् । त्यस दिन यात्रु व्यवस्थापनका लागि ४ हजार ९११ देखि ७ हजार ३७६ वटासम्म सवारीसाधनका ट्रिप आवश्यक पर्ने अनुमान छ ।
कात्तिक १ गते ६७ हजार २४३ देखि एक लाख ८६४ जनासम्म र कात्तिक २ गते ५० हजार ३११ देखि ७५ हजार ४६६ जनासम्म यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । कात्तिक ३ गते पनि ३६ हजार ४४१ देखि ५४ हजार ६६१ जनासम्म यात्रुले उपत्यका छाड्ने अनुमान छ ।
यात्रुको चाप व्यवस्थापन गर्न सवारीसाधनको पर्याप्त व्यवस्था, नियमित अनुगमन र सडकको अवस्थाबारे समयमै जानकारी उपलब्ध गराउनुपर्ने प्रतिवेदनले औँल्याएको छ ।
राजमार्गको दयनीय अवस्थाले यात्रा जोखिमपूर्ण
दसैंमा घर फर्किने यात्रुका लागि सवारीसाधनको चापसँगै बिग्रिएका सडक र क्षतिग्रस्त पुल चुनौती बनेका छन् । गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली नदीको बहावका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक भासिने समस्या देखिएको छ । बीपी राजमार्गमा पनि पटक–पटक पहिरो जाँदा आवागमन प्रभावित हुँदै आएको छ ।
त्यस्तै, असोज १५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित पक्की फलामे पुलमा क्षति पुर्याएको छ । पुल तथा सडक संरचनामा क्षति पुगेपछि असोज २५ गतेदेखि उक्त खण्डको सडक अवरुद्ध रहेको जनाइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले राष्ट्रिय राजमार्गको दयनीय अवस्थाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन चुनौती थपिएको बताए ।
उनका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवसायीले यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउन आवश्यक समन्वय र सहकार्य गरिरहेका छन् । तर, राजमार्गको खराब अवस्थाले जोखिम कायमै रहेको उनले बताए ।
पूर्वाधार विकास समितिका सभापति गजुरेलले बाढी र अविरल वर्षाका कारण विभिन्न राजमार्ग तथा पुलमा हुन सक्ने क्षतिलाई ध्यानमा राखेर व्यवस्थित यातायात सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बताए । सडक खुलाउन र मर्मत गर्न राज्यको जनशक्ति तथा स्रोत परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
सडक विभागका उपकरण तयारी अवस्थामा, १३०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन हुने
सम्भावित विपद् तथा दुर्घटनालाई ध्यानमा राख्दै सडक विभागले ५३ वटा ठूला डोजर, स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राखेको जनाएको छ । सडक अवरुद्ध भए तत्काल खुलाउन तथा मर्मत गर्न उपकरण परिचालन गर्ने तयारी गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि दसैँमा ट्राफिक व्यवस्थापनका लागि एक हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गर्ने जनाएको छ । चाडपर्वको मुख्य समयमा ट्राफिक प्रहरी अधिकृत तथा जवानलाई दैनिक १५ देखि १६ घण्टासम्म ड्युटीमा खटाउने कार्यतालिका रहेको छ ।
यात्रु सुरक्षा सुनिश्चित गर्न सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, आवश्यक कागजात र चालक अनुमतिपत्र जाँच गर्न प्रतिवेदनले सुझाव दिएको छ । त्यस्तै, मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाए–नचलाएको परीक्षण, क्षमताभन्दा बढी यात्रु राखे–नराखेको अनुगमन र लामो दूरीमा अनिवार्य दुई जना चालक राख्ने नियमको पालना गराउनुपर्नेमा जोड दिइएको छ ।























