काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टिम चयन भएको छ ।
निर्वाचित पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर रहेका छन् भने देउवा समूह छाडेका तीन जना मात्रै पदाधिकारीमा पुगेका छन् ।
सभापतिमा थापा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै दोहोरिएका छन् ।
थापाले ६ हजार ५८४ मत पाउँदा खड्गीले ३७५ मत प्राप्त गरे ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए ।
खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए ।
महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला सङ्ग्रौला विजयी भए ।
११ सहमहामन्त्रीमध्ये खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भए ।
अन्य सहमहामन्त्रीमा खस–आर्यतर्फ मनोजमणि आचार्य, थारुतर्फ योगेन्द्र चौधरी, मधेसीतर्फ अजयकुमार चौरसिया, महिलातर्फ प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, मुस्लिमतर्फ फिर्दोश आलम तथा अल्पसंख्यक र अपांगतातर्फ आंगेलु शेर्पा निर्वाचित भए ।
देउवा समूह छाडेर आएका तीन पदाधिकारीमा खतिवडा, शाही र चौरसिया छन् ।
चौरसियाले वैशाखमा तथा खतिवडा र शाहीले असोज १ गते देउवा समूह छाडेका थिए ।
विशेष महाधिवेशन पक्षधरले सभापतिसहित प्रमुख पदाधिकारीमा वर्चस्व कायम गरेका छन् ।
२०९ जना निर्वाचित केन्द्रीय सदस्यमा पनि करिब ९० प्रतिशत विशेष महाधिवेशन पक्षधर रहेको समाचारमा उल्लेख छ ।
२९८ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ७० जना मनोनित गर्न पाउने व्यवस्था छ ।
अब सभापति थापाले चार सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनित गर्न बाँकी छ ।
























