काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ ।
असोज २३ गते रातिदेखि सुरु भएको मतगणना मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सकिएको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसपटक सात हजार ३९२ मतदाताको करिब एक लाख ६२ हजार मतपत्र एक सातामै गणना गरिएको हो ।
१४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो ।
कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए ।
मतगणनाका क्रममा दैनिक र राति गरी करिब २५ समूह परिचालन गरिएको थियो ।
निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण दसैंलगत्तै गर्ने तयारी छ ।
त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे समेत छलफल हुने बताइएको छ ।
























