काठमाडौं – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका ११९ जना जवान दीक्षित भएका छन् ।
बिहीबार आयोजित दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानलाई शपथ ग्रहण गराउनुका साथै दज्र्यानी चिह्न प्रदान गरिएको थियो । दीक्षित जवानले सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्कालाई सलामी अर्पण गर्दै अन्तिम कवाज प्रदर्शन गरेका थिए । सो अवसरमा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कृतसमेत गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै नायब महानिरीक्षक खड्काले तालिम पूरा गरेसँगै जवानहरूको काँधमा राष्ट्रको सुरक्षा र नागरिकको सेवासम्बन्धी थप जिम्मेवारी आएको बताए । उनले अनुशासन, लगनशीलता र आत्मविश्वासका साथ कार्यक्षेत्रमा खटिन जवानहरूलाई आग्रह गरे । “आज तपाईंहरूको पोसाकमा नयाँ पहिचान थपिएको छ । काँधमा नयाँ जिम्मेवारी आएको छ र जीवनमा राष्ट्रसेवाको पवित्र सङ्कल्प जोडिएको छ,” उनले भने ।
खड्काले कठिन परिस्थितिमा समेत अडिग रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको सम्मान र सुरक्षा जवानहरूको प्रमुख दायित्व भएको बताए । नागरिकको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिँदै उनले कर्तव्य निर्वाह गर्दा कठोरतासँगै मानवीयता, साहससँगै विवेक र अनुशासनसँगै विनम्रता कायम राख्न निर्देशन दिए । उनले दीक्षित जवानलाई जनशक्तिका रूपमा तयार पार्न योगदान गर्ने परिवार, प्रशिक्षक र तालिम शिक्षालयप्रति आभारसमेत व्यक्त गरे ।
तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक तथा समादेशक विकास घिमिरेका अनुसार भर्ना तथा छनोट प्रक्रियाका विभिन्न चरण पार गरी नियुक्त भएका जवानलाई सङ्गठनको नीतिअनुसार आधारभूत तालिम प्रदान गरिएको हो । उनीहरूलाई व्यावसायिक योग्यता र दक्षतासहित योग्य, इमानदार तथा कर्तव्यनिष्ठ जनशक्तिका रूपमा तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।
तालिम सफलतापूर्वक सम्पन्न गर्ने ११९ प्रशिक्षार्थीमध्ये ख क्ष समूहका आठ, ख त्र समूहका तीन, ग क्ष समूहका २०, ग त्र समूहका ५७ र घ त्र समूहअन्तर्गत ग्रेडिङमा ३१ जना रहेका छन् । तालिमलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, बीपीईटी, मेडिकल, फायरिङ, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, परम्परागत युद्धकला र नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
दोस्रो चरणमा क्वार्टर गार्ड ड्रिल, सलामी, विभिन्न ऐन–कानुन, विपद् व्यवस्थापन, हुल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, माइनर ट्याक्टिक्स, फायरिङ, फिल्ड इन्जिनियरिङ र रेडियो सिग्नललगायत विषय समेटिएका थिए । दुवै चरणमा पाँच–पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको शिक्षालयले जनाएको छ । दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र दीक्षित जवानका अभिभावक सहभागी थिए ।
























