images
images
  • नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना

    काठमाडौं – बडादसैं अन्तर्गत नवरात्रको छैटौँ दिन आज आश्विन शुक्ल षष्ठीका अवसरमा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका दसैँघर, पूजा कोठा र शक्तिपीठमा देवीको पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ ।

    वैदिक सनातन परम्पराअनुसार नवरात्रको प्रत्येक दिन नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गर्ने चलन छ । सोही परम्पराअनुसार षष्ठीका दिन कात्यायनी देवीको विशेष पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार कात्यायनी देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र मनोकामना प्राप्त हुन्छ ।

    विभिन्न पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार देवकार्य सम्पन्न गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा अवतार लिएकी थिइन् । उनको बालसौन्दर्यबाट प्रभावित भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको धार्मिक मान्यता छ ।

    नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिएको थियो । आज छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदैछ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष पूजा आराधना गरिन्छ ।

    दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।

    शक्तिपीठमा भक्तजनको भीड

    नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा भक्तजनले पूजा आराधना तथा दर्शन गरिरहेका छन् ।

    त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ ।

    विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका

    नवरात्रका नौ दिन पूजा आराधना गरेपछि तयार पारिएको जमरा र देवीको प्रसादका रूपमा विजयादशमीमा टीका लगाउने परम्परा छ। देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन छ भने कतिपय समुदायमा कुलपरम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाइन्छ ।

    धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ । यसरी नेपालीले करिब १५ दिनसम्म बडादसैं पर्व मनाउने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images