काठमाडौं – दसैंका मुख्य दिनमा सफाइ कर्मचारीसमेत पर्व मनाउन जाने भएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चार दिन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ ।
महानगरपालिकाले दसैँका कारण फोहोर व्यवस्थापनमा समस्या हुने भन्दै उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको छ । फोहोर जथाभावी फाल्दा सडक तथा सार्वजनिक स्थलमा फोहोर थुप्रिने र वातावरणीय समस्या बढ्ने भएकाले आफ्नै घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा व्यवस्थापन गर्न महानगरले अनुरोध गरेको हो ।
कामपाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर अलग(अलग राख्न आग्रह गरेकी छन्। उनका अनुसार फोहोरलाई वर्गीकरण गरी सुरक्षित स्थानमा राख्दा व्यवस्थापन सहज हुनुका साथै दुर्गन्ध र प्रदूषणको जोखिमसमेत कम गर्न सकिन्छ ।
महानगरपालिकाले उक्त चार दिनबाहेक अन्य दिनमा भने नियमित रूपमा फोहोर व्यवस्थापन हुने जनाएको छ । त्यसैले दसैंको अवधिमा फोहोर उत्पादन कम गर्ने, पुनः प्रयोग गर्न मिल्ने वस्तु छुट्याउने र फोहोरलाई निर्धारित व्यवस्थापन प्रक्रियाअनुसार राख्ने जिम्मेवारी नागरिकको पनि हुने महानगरको आग्रह छ ।























