images
images
  • चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नगर्न प्रशासनको चेतावनी, अस्वस्थकर मासु जफत

    काठमाडौं – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कञ्चनपुर प्रशासनले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ। प्रशासनले बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण नगर्न चेतावनी दिँदै उपभोक्तालाई ठगी र अनलाइन स्क्यामबाट समेत सतर्क रहन अनुरोध गरेको छ ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बिहीबार साँझ विशेष अनुरोधसहितको सूचना जारी गर्दै चाडपर्वका बेला खाद्यान्न, इन्धन र खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई मार पर्ने गरी मूल्य नबढाउन आग्रह गरेका हुन् ।

    उनले नागरिक, सरकारी कार्यालय, सङ्घसंस्था तथा सरोकारवाला निकायलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्दै चाडपर्वका बेला शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका छन् ।

    प्रशासनले चाडपर्वका नाममा आतिसबाजी, भुइँचम्पा, पटाका, बारुद तथा अन्य विस्फोटक र आगलागी हुनसक्ने वस्तुको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

    त्यस्तै, जुवातास, चिठ्ठा, कौडा र सट्टेबाजी जस्ता गैरकानुनी गतिविधि नगर्न तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला नगर्न प्रशासनले सचेत गराएको छ ।

    अनलाइन किनमेलका क्रममा अपरिचित व्यक्तिबाट आउने आकर्षक अफर, गैरकानुनी चिठ्ठा तथा सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन पनि प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरेका छन् ।

    प्रशासनले सबै धर्म, जातजाति र संस्कृतिप्रति सम्मान व्यक्त गर्दै तडकभडक र अवाञ्छित गतिविधिबाट टाढा रहन तथा आपसी सहयोग, सद्भाव र भाइचाराका साथ चाडपर्व मनाउनुपर्नेमा जोड दिएको छ ।

    चाडपर्वका समयमा अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, आवश्यक जनशक्ति र इन्धनलगायत अत्यावश्यक सेवाका साधन तयारी अवस्थामा राख्न पनि प्रशासनले मातहतका निकायलाई अनुरोध गरेको छ। मौसममा हुनसक्ने परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको छ ।

    महेन्द्रनगरका मासु पसलमा अनुगमन, अस्वस्थकर मासु जफत

    यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलहरूको अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिएका छन् ।

    दसैंतिहारका बेला मासुको खपत बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रशासनले बजार अनुगमनलाई प्राथमिकता दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images