images
images
  • सडक र पुलसँगै कृषि उत्पादन बढाउने योजनामा म्याग्दे गाउँपालिका

    काठमाडौं – तनहुँको म्याग्दे गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै कृषि उत्पादन, बजारीकरण र पशुपालनलाई प्राथमिकता दिएको छ। स्थानीयको आर्थिक अवस्था सुधार गर्न सडक, पुल, खानेपानी र सिँचाइ विस्तारसँगै कृषि यान्त्रिकीकरण, कृषि एम्बुलेन्स, चिस्यान केन्द्र तथा दूधमा अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले एक वर्षको अवधिमा २.७५ किलोमिटर नयाँ सडकको ट्र्याक खोलेको छ भने ४.९५ किलोमिटर सडक ग्राभेल र १४० मिटर सडक कालोपत्र गरेको छ। ग्रामीण बस्तीलाई सडक सञ्जालमा जोड्न र यातायात सहज बनाउन नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

    सडक पूर्वाधारसँगै खोलानाला तथा नदीका कारण आवतजावतमा हुने कठिनाइ कम गर्न छ वटा मोटरेबल पुल निर्माण गरिएको छ। पुल निर्माणले स्थानीयको आवतजावतसँगै कृषि उपज ओसारपसारमा सहजता थपेको गाउँपालिकाको भनाइ छ ।

    खानेपानीको पहुँच विस्तार गर्ने क्रममा ८२ घरमा धारा जडान गरिएको छ । स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै १७ वटा शौचालय निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न ३२२ मिटर सिँचाइ कुलो निर्माण गरिएको छ    । वर्षाको पानी तथा खोलाको बहाव व्यवस्थापन र सिँचाइमा सहयोग पुर्‍याउने उद्देश्यले तीन वटा बाँध निर्माण गरिएको छ । ग्रामीण बस्तीमा विश्राम तथा सामाजिक भेटघाटका लागि पाँच वटा चौतारा पनि बनाइएको छ ।

    कृषि उपजको बजारीकरणमा कृषि एम्बुलेन्स

    गाउँपालिकाले कृषि उत्पादन बढाउनेसँगै उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने व्यवस्थामा जोड दिएको छ। कृषकलाई बीउबिजन वितरण गर्नुका साथै हाते ट्याक्टर, कुटानी–पिसानीका उपकरण र अन्य कृषि औजार उपलब्ध गराएर कृषि यान्त्रिकीकरणमा सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । परम्परागत रूपमा श्रममा आधारित कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यले कृषि उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । यसले उत्पादन बिक्रीका लागि ढुवानीमा लाग्ने कठिनाइ कम गर्ने र कृषकलाई बजारसँग जोड्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

    त्यस्तै, उत्पादन भएको कृषि उपजले तत्काल बजार नपाउँदा हुने क्षति न्यूनीकरण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । विशेषगरी आलु, तरकारीलगायत छिट्टै बिग्रन सक्ने कृषि उपज सुरक्षित राख्न चिस्यान केन्द्र उपयोगी हुने गाउँपालिकाको विश्वास छ ।

    कृषि उत्पादन वृद्धि भए पनि उचित मूल्य र बजारको सुनिश्चितता नहुँदा कृषकले समस्या भोग्नुपर्ने अवस्थालाई ध्यानमा राखेर उत्पादनदेखि बजारीकरणसम्मका कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

    दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

    म्याग्दे गाउँपालिकाले पशुपालनलाई स्थानीयको आम्दानी र रोजगारीसँग जोड्ने उद्देश्यले दूध उत्पादनमा अनुदान तथा पशुपोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। पशु सुत्केरी भएपछि आवश्यक पोषण व्यवस्थापनका लागि सुत्केरी पशु पोषण अनुदानको व्यवस्था पनि गरिएको अध्यक्ष श्रेष्ठले बताए । दूध उत्पादनलाई प्रोत्साहन गर्ने र पशुपालनमा संलग्न कृषकको लागत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको भनाइ छ ।

    पूर्वाधारलाई उत्पादन र रोजगारीसँग जोड्ने लक्ष्य

    अध्यक्ष श्रेष्ठका अनुसार सडक, पुल र अन्य भौतिक पूर्वाधार निर्माण मात्रले स्थानीयको आर्थिक अवस्था सुधार नहुने भएकाले कृषि तथा पशुपालनलाई पनि प्राथमिकतामा राखिएको हो ।स्थानीय उत्पादन वृद्धि, कृषि उपजको बजारसम्म पहुँच, कृषि यान्त्रिकीकरण र पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रमले गाउँपालिकाको अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको उनले बताए । पूर्वाधार विकाससँगै उत्पादन र रोजगारी सिर्जनालाई अघि बढाउने गाउँपालिकाको प्रयासले स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने तथा गाउँमै आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images