images
images
  • आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड

    काठमाडौं – विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।

    सन् २०२६ को विश्व खाद्य दिवसको नारा ‘आजको नवीनताः भोलिको पोषण’ रहेको छ । यस वर्षको नाराले कृषि तथा खाद्य प्रणालीमा प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग बढाएर भावी पुस्ताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ ।

    बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा खाद्य उत्पादन र वितरणमा देखिएका चुनौतीबीच नवीन प्रविधिको प्रयोगलाई खाद्य प्रणाली सुधारको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ । कृषि उत्पादन वृद्धि, खाद्यान्नको उचित भण्डारण, वितरण प्रणालीमा सुधार र पौष्टिक आहारको पहुँच विस्तारमा प्रविधिको उपयोग आवश्यक रहेको दिवसको सन्देश छ ।

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको एफएओको उद्देश्य भोकमरी न्यूनीकरण, पोषण सुधार र खाद्य सुरक्षाका क्षेत्रमा विश्वव्यापी सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।

    सन् १९७९ नोभेम्बरमा एफएओको सम्मेलनले विश्व खाद्य दिवस मनाउने निर्णय गरेपछि सन् १९८१ देखि अक्टोबर १६ मा नियमित रूपमा यो दिवस मनाउन थालिएको हो । नेपालले सन् १९५१ नोभेम्बरमा एफएओको सदस्यता प्राप्त गरेको थियो। नेपालमा पनि सन् १९८१ अर्थात् विसं २०३८ देखि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइंदै आएको छ । यस अवसरमा खाद्य सुरक्षा, कृषि उत्पादन वृद्धि, पोषणयुक्त आहार र भोकमरी अन्त्यसम्बन्धी जनचेतना फैलाउन गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रम आयोजना गरिन्छन् ।

    विश्व खाद्य दिवसले खाद्यान्नको उत्पादन बढाउनुका साथै त्यसको समानुपातिक वितरण, खाद्य पदार्थको गुणस्तर र पौष्टिकतामा ध्यान दिनुपर्ने आवश्यकतालाई पनि उजागर गर्छ। खाद्य सुरक्षाका चुनौती समाधान गर्न सरकार, कृषि क्षेत्र, निजी क्षेत्र तथा समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश यस दिवसले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images