काठमाडौं– पश्चिम नेपालका विभिन्न भू–भागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भाग एकदुई स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरिएको छ ।
नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायुका कारण हल्का वर्षा भने हुनेछ ।























