images
images
  • भोटेकोशी बाढी : दसैं आयो तर आमाबुवा आउनुभएन

    बाँके– पछिल्लो केही दिनयता गाँउघरमा दसैंको चहलपहल र उल्लास बढेको छ ।

    प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ ।

    वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ।

    नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दसैं खुसी होइन आँसु र पिरलो बोकेर आएको छ ।

    आमाबुवा आराम दमाईं र उजना दमाई भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ ।

    सबैका घरमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने चटारो हुँदा ती तीन कलिला बालबालिका भने आमाबुवा फर्किने आशा र निराशामा दिन बिताइरहेका छन् ।

    ‘आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दसैं आयो, आमाबुवा आउनुभएन,’ जेठा छोरा सुभास भक्कानिँदै भने, ‘बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि हामी पूरै सहाराविहीन भयौँ । दसैं आउँदा आमाबुवाको झन धेरै यादले सताइरहेको छ ।’

    नेपालीको महान् पर्व बडादसैं घरआँगनमा आइपुगेको छ तर, बाढीमा परी बेपत्ता आराम दमाईं र उजना दमाईं हालसम्म पनि नफर्किदा सहाराविहीन उनका छोराछोरीमा निराश छन् ।

    मूल थलो बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका आराम दमाईं र उजना दमाइका लागि हन्डर र सङ्घर्ष नयाँ कुरा थिएनन् ।

    तर, आफ्ना सन्तानले आफूले जस्तै अभाव र दुःख भोग्न नपरोस् भनेर उनीले एउटा ठूलो र सुन्दर सपना बुनेका थिए, छोराछोरीलाई काठमाडौंमा राखेर राम्रो शिक्षा दिने ।

    नेपालगञ्जमा सोचेजस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्न पुगेको थियो ।

    दिनरात पसिना बगाएर कमाएको रकमले काठमाडौँमा कक्षा ९ मा पढ्ने सुभास, कक्षा ६ मा पढ्ने अश्विन र कक्षा ४ मा पढ्ने सानी बहिनी स्मारिकाको उज्ज्वल भविष्यको जग बसिरहेको थियो ।

    ‘आमा–बुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौँ,’ छोरा सुभासले भने, ‘अहिले बाढीले दुवैजनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।’

    यो शोक केबल एउटा घरमा मात्र सीमित छैन ।

    उक्त बाढीमा परी थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् ।

    नेपालगञ्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता व्यक्तिहरुको खोजीकार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूहरुले काम गर्दै आएको जानकारी दिए ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, रसुवाबाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म पनि बेपत्ता छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images