images
images
  • अरुण नदीको सतिघाटमा सञ्चालनमा आयो दसैं लक्षित ‘फेरी’

    भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा दसैं लक्षित ‘फेरी’ सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरी सेवा सञ्चालनमा आएको हो । दसैँतिहारमा आवागमन सहज बनाउने उद्देश्यले पाँच महिनापछि सेवा सञ्चालनमा आएको हो ।

    बर्सातका कारण गत जेठदेखि बन्द रहेको सतिघाट खण्ड बुधबारदेखि फेरी सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ । दसैंतिहारलगायत चाडपर्वलाई लक्षित गरी सतिघाटमा हलुका सवारीसाधनलाई नदी वारपार गर्न मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

    अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिकलाई आवागमनमा समस्या हुँदै आएको थियो । सेवा सञ्चालनमा आएसँगै उत्तरी क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवतजावत गर्न सहज हुने उनको भनाइ छ ।

    आवागमन सञ्चालनमा आएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई राहत पुगेको छ । सतिघाटमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन, यात्रु तथा दैनिक उपभोग्य वस्तु नदी वारपार गराउन फेरीमा निर्भर हुनुपर्ने अवस्था छ ।

    यहाँ विसं २०७६ देखि फेरी सञ्चालन हुँदै आएको छ । फेरी सञ्चालनले भोजपुरको उत्तरी क्षेत्रका बासिन्दालाई सङ्खुवासभासँग जोडिन तथा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज बनाउँदै आएको छ । यद्यपि बर्सातका कारण हरेक वर्ष सेवा बन्द हुँदा स्थानीयवासीले समस्या भोग्नुपर्ने भएकाले सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता कायमै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images