images
images
  • जर्मनीमा आगलागीमा परी तीन भारतीय विद्यार्थीको मृत्यु

    काठमाडौं– जर्मनीको बोचममा अपार्टमेन्ट भवनमा भएको आगलागीमा दुई महिला र एक पुरुष गरी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमा बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    बोचमस्थित उनीहरूको अपार्टमेन्ट भवनमा आगलागी हुँदा अन्जली शीला जोय, नोभा साबु र सिभिन जोनीको मृत्यु भएको स्थानीय प्रहरीले उल्लेख गरेको छ । प्रहरीले हत्याको आशंकामा ४१ वर्षीय एक रोमानियाली नागरिकलाई पक्राउ गरेको हो ।

    बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन-वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतक तीनै जना जर्मनीमा अध्ययनरत थिए ।

    दूतावासका अनुसार बर्लिनस्थित भारतीय दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावास स्थानीय अधिकारी तथा मृतकका परिवारसँग सम्पर्कमा छन् । उनीहरूले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन् । दूतावासले शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।

    जर्मन प्रहरी र अभियोजनकर्ताका अनुसार आगलागीको कारण पत्ता लगाउन गरिएको विस्तृत अनुसन्धानले प्राविधिक त्रुटिको सम्भावना अस्वीकार गरेपछि ४१ वर्षीय बासिन्दामाथि शङ्का बढेको हो ।

    सन्दिग्ध व्यक्तिसँग हत्या अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूले सोधपुछ गरेका छन् । बोचम अभियोजन कार्यालयको निर्देशनमा थप अनुसन्धान भइरहेको छ ।

    एनाडोलु समाचार एजेन्सीले जर्मनीको सार्वजनिक प्रसारक एनडीआरलाई उद्धृत गर्दै आगलागी हुनुभन्दा एक दिनअघि भवनमा विवाद भएपछि प्रहरी बोलाइएको जनाएको छ । उक्त भवनमा यसअघि पनि पटकपटक घटना भएपछि प्रहरी पुगेको समाचारमा उल्लेख छ । यद्यपि प्रहरीले यसअघिका घटनाको आगलागीसँग सम्बन्ध नरहेको जनाएको छ ।

    आगलागीको वास्तविक कारण र घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे जर्मन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images