काठमाडौं– भेनेजुयलामा लोकतान्त्रिक सङ्क्रमणका लागि अन्तरिम सरकार र विपक्षी प्रतिनिधिहरूबीच बुधबार तेस्रो चरणको वार्ता सुरु भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकाको पहलमा गत अगस्टदेखि सुरु भएको वार्तामा राजनीतिक प्रक्रिया, निर्वाचन र विभिन्न दलको सहभागिताबारे छलफल भइरहेको छ ।
मादुरो सरकार सत्ताच्युत भएपछि अमेरिकाले लोकतान्त्रिक निर्वाचनका लागि भेनेजुयलालाई दबाब दिँदै आएको छ ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले दिनोरा फिगुराको नेतृत्वमा रहेको विपक्षी समूहसँग वार्ता गरिरहेकी छन् । सन् २०१५ को राष्ट्रियसभामा बहुमत प्राप्त राजनीतिक समूहको नेतृत्व गरेकी फिगुराको प्रतिनिधिमण्डलमा निर्वासनमा रहेकी विपक्षी नेता मारिया कोरिना मचाडो भने सहभागी छैनन् ।
अमेरिकी अधिकारीका अनुसार अघिल्ला दुई चरणमा स्वतन्त्र सर्वोच्च अदालत, वेबसाइटमा पहुँच र दमनकारी कानुन सुधारका विषयमा ठोस प्रगति भएको छ । तेस्रो चरणमा निर्वाचन र लोकतान्त्रिक सङ्क्रमणका लागि आवश्यक संस्था तथा संरचना निर्माणमा जोड दिइने ती वरिष्ठ अधिकारीले बताए । वार्ता आगामी हप्ताको अन्त्यसम्म चल्ने बताइएको छ ।
सन् २०२६ को जनवरीमा अमेरिकी सेनाले काराकासमा छापा मार्दा तत्कालीन राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर मुद्दाको सामना गर्न न्युयोर्क लगिएको थियो । मादुरोका दुई पुनःनिर्वाचनका नतिजालाई व्यापक रूपमा धाँधलीपूर्ण ठहर गरिएको थियो ।
सत्तामा आएपछि रोड्रिगेजले सयौँ राजनीतिक बन्दीलाई रिहा गर्ने, यातनाको आरोप लाग्दै आएको एल हेलिकोइड हिरासत केन्द्र बन्द गर्ने तथा न्यायपालिका सुधार र केही समाचार वेबसाइटमाथिको प्रतिबन्ध हटाउने योजना अघि सारेकी छन् । यद्यपि अधिकार समूहहरूका अनुसार अझै पनि सयौं राजनीतिक बन्दी जेलमा छन् ।























