images
images
  • इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका, शक्तिशाली गैरआणविक बम एमओएबी प्रहार गर्ने योजना

    काठमाडौं– अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु गरेमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ । सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो ।

    अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भएमा उक्त बम प्रयोग गर्ने विकल्पमाथि विचार भइरहेको छ ।

    इरानसँगको जारी द्वन्द्वमा पहिलो पटक एमओएबी प्रयोग गरिएमा त्यसले युद्धलाई थप चर्काउन सक्ने सीएनएनले जनाएको छ । यद्यपि, उक्त बमको प्रयोगले अमेरिकाका घोषित रणनीतिक उद्देश्य पूरा गर्न वा युद्धको शक्ति सन्तुलन बदल्न कत्तिको प्रभाव पार्छ भन्नेमा अमेरिकी सैन्य योजनाबारे जानकार अधिकारीहरूले शंका व्यक्त गरेका छन्।

    वासिङ्टन र तेहरानबीच द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि तनाव कायमै छ। राष्ट्रपति ट्रम्पले अक्टोबर ८ मा इरानी अधिकारीहरूसँग वार्ता जारी रहेकाले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने बताएका थिए । तर निर्वाचनपछि सैन्य कारबाही हुन सक्ने सम्भावनालाई उनले खुला राखेका थिए ।

    इरानसँगको द्वन्द्वले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ । विशेषगरी स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर चासो बढेको छ । युद्धअघि विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने यो सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिन्छ ।

    करिब ९ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो । यसलाई ठूलो क्षेत्रफलमा रहेका लक्ष्यहरू ध्वस्त पार्न डिजाइन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images