images
images
  • भोटेकोशी बाढीपीडितलाई रेडक्रसको राहत प्याकेज, प्रभावित परिवारले एक लाखसम्म पाउने

    काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले राहत, आवास पुनःस्थापना र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने भएको छ। बाढीबाट बेपत्ता भएका व्यक्तिका परिवारका निश्चित जोखिममा रहेका सदस्य तथा परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ र दुई हजार घरधुरीलाई १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइने भएको हो ।

    बाढी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन पुनःलाभ, पुनःस्थापना र भविष्यमा हुन सक्ने विपद् तथा जलवायुजन्य जोखिम सामना गर्ने क्षमता बढाउन नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच सहकार्य सम्झौता भएको छ ।

    विदुर नगरपालिकाको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, नेपालस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    नेपाल रेडक्रसका अनुसार बाढीको खोज तथा उद्धारपछि प्रभावित परिवारलाई नगद सहायता, आवास, स्वास्थ्य, खानेपानी र जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम अघि बढाउन लागिएको हो ।

    दुई हजार परिवारलाई नगद सहायता

    सम्झौताअनुसार बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारमध्ये एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहायता उपलब्ध गराइनेछ ।

    त्यस्तै, दुई हजार घरधुरीलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता प्रदान गरिनेछ। यसले प्रभावित परिवारलाई खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा आवश्यकताअनुसार अन्य खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    रेडक्रसले एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता उपलब्ध गराउने योजना पनि बनाएको छ । बाढीका कारण आम्दानीको स्रोत गुमाएका वा प्रभावित भएका परिवारलाई आर्थिक गतिविधि पुनःसुरु गर्न यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    दुई हजार परिवारलाई घरभाडा, ६०० परिवारलाई अस्थायी आवास

    बाढीबाट घर क्षति भएका परिवारको आवास समस्या सम्बोधन गर्न रेडक्रसले थप कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्थायी आवासको व्यवस्था नभएसम्म दुई हजार घरधुरीलाई घरभाडा भुक्तानीमा सहयोग गरिनेछ। त्यस्तै, ६०० घरधुरीका लागि सङ्क्रमणकालीन आवासको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ ।

    आवास सहायता कार्यक्रमले घर गुमाएका वा बस्न नमिल्ने अवस्थामा पुगेका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सम्झौतामा स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण, आधारभूत स्वास्थ्य तथा आपत्कालीन स्वास्थ्य सेवा, विद्यालय र शैक्षिक पूर्वाधारको पुनःस्थापना तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने विषय पनि समेटिएका छन् ।

    ३० हजार जनसङ्ख्यालाई खानेपानी सुविधा

    बाढीबाट क्षति पुगेको खानेपानी पूर्वाधारको मर्मत तथा पुनःस्थापनालाई पनि रेडक्रसले प्राथमिकतामा राखेको छ। विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइन मर्मत गरिनेछ ।

    त्यस्तै, विदुर, बुधसिंघाट, सिर्खाली र महारानीडिही क्षेत्रमा करिब ३० हजार जनसङ्ख्या लाभान्वित हुने गरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गरिनेछ ।

    बाढीपछि क्षतिग्रस्त खानेपानी संरचनाको पुनःस्थापनाले प्रभावित समुदायमा स्वच्छ पानीको पहुँच सुधार गर्न तथा सरसफाइसम्बन्धी जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। खानेपानी तथा सरसफाइसँगै स्वास्थ्य सेवा र अस्थायी आवासको व्यवस्थापनले प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन मद्दत गर्नेछ।

    विपद् जोखिम न्यूनीकरणमा पनि सहकार्य

    राहत वितरण र भौतिक संरचनाको पुनर्निर्माणमा मात्रै सीमित नरही नेपाल रेडक्रस र विदुर नगरपालिकाले भविष्यमा हुन सक्ने विपद् सामना गर्ने समुदायको क्षमता अभिवृद्धिमा समेत सहकार्य गर्ने भएका छन् ।

    सम्झौताअनुसार विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, समुदायको उत्थानशीलता अभिवृद्धि तथा आवश्यकतामा आधारित नगद सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ ।

    कार्यक्रमको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा उनले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ ।

    नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालले बाढी प्रभावित नागरिकलाई बहुपक्षीय सहयोग उपलब्ध गराउन रेडक्रस निरन्तर सक्रिय रहने बताए। उनले निर्धारित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र रेडक्रसका संरचनाबीच समन्वय आवश्यक रहेकोमा जोड दिए ।

    आईएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले मानवीय सहायता निरन्तर जारी रहने बताउँदै स्थानीय तहसँगको सहकार्यले बाढी प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

    विदुर नगरप्रमुख राजन श्रेष्ठले रेडक्रसको सहयोगले प्रभावित क्षेत्रको पुनःस्थापना र नागरिकको सहज जीवनयापनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले विपद्पछिको पुनर्निर्माण तथा प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन नगरपालिकाले रेडक्रससँगको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images