काठमाडौं – दैनिक करिब ८०० यात्रु आवतजावत गर्ने भरतपुर विमानस्थलको सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सुधार गर्न निर्देशन दिएको छ । विमानस्थलका शौचालयबाट दुर्गन्ध फैलिने, नियमित सरसफाइ नहुने र परिसर अव्यवस्थित रहेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको हो ।
विमानस्थलको अवस्थाबारे सर्वसाधारणले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य सोविता गौतमसमक्ष गुनासो गरेका थिए । मन्त्री गौतमले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएपछि उनीसहितको टोलीले विमानस्थल परिसरको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनका अनुसार विमानस्थल कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
अर्यालले आफू चितवन आएपछिका १५ महिनामा कार्यालय प्रमुखहरूको बैठकमा विक सहभागी नभएको पनि बताए । नियमित बैठकमा अनुपस्थित हुँदा विमानस्थलका समस्या पहिचान गर्ने र समाधानका लागि समन्वय गर्ने काम प्रभावित भएको उनको भनाइ छ ।
विमानस्थलको समस्या शौचालयको दुर्गन्धमा मात्रै सीमित छैन । पार्किङ व्यवस्थापन, समग्र पूर्वाधारको अवस्था र कार्यालयमा कर्मचारी नियमित उपलब्ध हुने विषयमा समेत कमजोरी देखिएको प्रशासनले जनाएको छ ।
विशेषगरी बोर्डिङ प्रक्रिया पूरा गरेर प्रतीक्षा कक्षमा पुगेका यात्रुले शौचालयबाट आउने दुर्गन्धका कारण असहज अवस्था भोग्नुपरेको गुनासो गर्दै आएका थिए । विमानस्थलजस्तो सार्वजनिक सेवाको महत्वपूर्ण केन्द्रमा आधारभूत सरसफाइसमेत प्रभावकारी हुन नसकेको भन्दै यात्रुले असन्तुष्टि जनाएका हुन् ।
भरतपुर विमानस्थलबाट बुद्ध एयरले काठमाडौंका लागि दैनिक सातवटा उडान गर्दै आएको छ । दैनिक सयौँ यात्रुले सेवा लिने विमानस्थलमा सरसफाइ र व्यवस्थापनको समस्या दोहोरिनुले कार्यालयको सेवा प्रवाहमाथि प्रश्न उठाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले अनुगमनपछि विमानस्थलको अवस्था सुधार गर्न कार्यालय प्रमुखलाई प्रतिबद्ध गराइएको बताए। विमानस्थल कार्यालय प्रमुख विकले पनि केही कमीकमजोरी रहेको स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार अनुगमनपछि सुधारका काम अघि बढाइएको छ ।






















